सुनको मूल्यमा नयाँ कीर्तिमान

छोराले गरे आमाको हत्या

परासी ।  नवलपरासीको सुनवल नगरपालिका–१३ बिचैपुरमा छोराले आमाको हत्या गरेका छन्। 

सोमबार साँझ २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया बुद्धिरानी मुसहरको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक(डीएसपी) भोजराज पाण्डेले बताए। 

हत्या गरेर शवलाई घरभित्र छाडेर अभियुक्त फरार भएका थिए। उनीहरूको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी रहेको प्रहरीले जनाएको छ। काम गरेर साँझ घर फर्केका शिवका बुवाले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए। 

अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ। आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रूपमा कुटपिट गर्ने गरेका थिए। 

कुटपिट सहन नसकेपछि अभियुक्तकी श्रीमती दुई महिनाअघिबाट माइतमा गएर बसेको प्रहरी उपरीक्षक पाण्डेले बताए। हत्यापछि फरार रहेका अभियुक्त रुपन्देहीको गैंडाहवा–८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार बिहान पक्राउ परेका छन्। 

झट्ट हेर्दा उनी सन्की स्वभावका देखिए पनि के कति कारणले आमाको हत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ३९ बजे