आज वर्षाको सम्भावना

यस वर्षको मदन भण्डारी पुरस्कार डा. शेर्पा र मगरलाई

​​​​​​​ काठमाडौँ – मदन भण्डारी फाउन्डेशनले जननेता मदन भण्डारीको जन्मोत्सवको अवसरमा हरेक वर्ष दिँदैआएको पुरस्कार यस वर्ष राष्ट्रिय पुरस्कारबाट दुई जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । समाजमा सिर्जनात्मक काम गरी अरुलाई उत्प्रेरित गर्ने व्यक्ति र संस्थालाई फाउन्डेशनले सो पुरस्कार प्रदान गर्दैआएको छ ।

फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ बाट सोलुदूधकुण्ड नगरपालिका-४, फाप्लु, सोलुखुम्बु निवासी श्री डा. मिङमार गेल्जेन शेर्पालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । फाउण्डेशनका सचिवालय सदस्य एवं पुरस्कार समितिका संयोजक राम शरण प्याखुरेलका अनुसार ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरीव, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतःमातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम,दूर्गम असहायहरूका लागि हाडजोर्नी र अपाङ्गता सम्बन्धि जिल्लाहरूमा टेलिमेडिसिन सेवा, उपचारकासाथै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि तथा स्वास्थ्य सामाग्रीहरू नियमित आपूर्ति गर्न बहुवर्षीय खरिद प्रणालीको शुरुआत लगायत स्वास्थ्य सेवाको निरन्तरता र दिगोपनाका लागि स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्दै आउनुभएका डा.  शेर्पालाई यसवर्ष पुरस्कृत गर्न लागिएको बताउनुभयो ।

त्यस्तै, मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारबाट विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठीन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बावजूद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सफलताको मानकहरू कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै विभिन्न खेल गतिविधिहरूमा नियमित र निरन्तर संलग्न रहँदै सम्बन्धित खेल क्षेत्र, लिङ्गीय विभेद विरुद्ध महिला आत्मसुरक्षा तथा आत्मानुशासन क्षेत्रको ज्ञान सीपको प्रचार एवं कौशल हस्तान्तरण गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडिहरूको नयाँ पुस्ता तयार गर्ने कार्यमा हालसम्म पनि निरन्तर योगदान पुऱ्याउँदै खेलकुद क्षेत्रको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्ने कार्यमा उत्कृष्ट नमूना प्रस्तुत गर्न सफल महिला व्यक्तित्व हेटौँडा उपमहानगरपालिका-४ प्रतिभानगर, मकवानपुर निवासी श्री निरु कुमारी मगरले  महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको मूल्याङ्कन गरी सो पुरस्कार दिने निर्णय गरिएको हो । 

पुरस्कृत हुनु हुने उहांहरुलाई असार महिनाको १४ गते जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजना हुने मूल कार्यक्रमकावीच जनही १ लाख नगद सहितको सम्मान- पत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

फाउण्डेशनका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले बामपन्थी लोकतान्त्रिक क्रान्तिमार्फत समाज रुपान्तरणमा मदन भण्डारीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । समाजका सकारात्मक पक्ष र सत्कर्मलाई उजागर गर्ने र त्यसमार्फत समाजलाई उत्प्रेरित गर्ने मूल ध्येय जननेता भण्डारी रहेको र फाउण्डेशनले सोहीअनुसार अहिले काम गरिरहेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनका मौलिक सिद्धान्तकार तथा सिर्जनशील वैचारिक नेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) को कार्यान्वयन नै समाज रुपान्तरणको प्रमुख आधार मान्दै नेकपा (एमाले) ले आफ्नो मूल सिद्धान्तको रुपमा अङ्गिकार गर्दैआएको छ । विश्वभर धर्मराएको वामपन्थी समाजवादी आन्दोलनलाई जबजकै कारण नेपालमा फष्टाएको दावी फाउण्डेशनले गर्दैआएको छ । 

जननेता मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा फाउण्डेशनले कार्यक्रम गर्दैआएको छ । वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका जननेता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएको थियो । उहाँको हत्या भएको दावी एमालेले गर्दैआएको भए पनि अनुसन्धान हुनसकेको छैन ।

फाउण्डेशनले भण्डारीको ७२  औं जन्मयन्तीको अवसरमा आगामी बिहीबार असार १४ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग    काठमाडौंमा कार्यक्रम गरी पुरस्कार वितरण गर्ने जनाएको छ । उक्त अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा र पूर्व प्रधानमन्त्री एवं फाउण्डेशनका संरक्षक केपी शर्मा ओलीको विशिष्ट आतिथ्यमा हुने मदन भण्डारी राष्ट्रिय पुरस्कार एवं मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार वितरण तथा "जबजका आयाम तथा विशेषताहरू” विषयक विचार गोष्ठी रहेको छ । 

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ४० बजे