आज वर्षाको सम्भावना

एबीसी  टेलिभिजनले  पत्रकारलाई तलब नदिएको आरोप, मिडिया देखाएर अर्कै धन्दा नगर्न चेतावनी

काठमाडौं । एबिसी टेलिभिजनले सञ्चारकर्मीलाई तलब नदिएको गुनासो बाहिर आएको छ । एबीसी मिडिया ग्रुप प्रालिद्वारा संचालित सो सञ्चार संस्थामा कार्यरत पत्रकारले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै श्रमजीवी पत्रकार संघले आपत्ति जनाएको हो । 

संघले आज विज्ञप्ति जारी गर्दै एबिसी टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरुले तलब नपाएको गुनासो पटक(पटक आएकाले तत्काल भुक्तानी गर्न मागसमेत गरेको छ । अध्यक्ष जन्मदेव जैसीका अनुसार एबीसी टेलिभिजनका व्यवस्थापकले लामो समयसम्म पारिश्रमिक रोकिदिने, श्रमजीविको सामाजिक, पेशागत, अर्थ, सुरक्षामा चासो नदिनेजस्ता गैरजिम्मेवारपूर्ण व्यवहार गरेको गुनासो आइरहेको बताए । 

यसतर्फ आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उनले तत्काल श्रमजीवि पत्रकार ऐनले तोकेका सबै सेवा सुविधासहित पत्रकारहरुको बाँकी पारिश्रमिक अनिवार्य भुक्तानी गर्न माग गरेका छन् । अन्यथा, मिडिया देखाएर अर्कै धन्दा गर्ने, मिडिया प्लेटफर्मको दुरुपयोग गर्ने, दिनरात नभनी काम गर्दै आएका श्रमजीवीलाई दुःख दिने व्यवस्थापनकविरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने उनको चेतावनी छ । 

साथै, यसबाट सिर्जित जस्तोसुकै परिस्थितिको जिम्मेवार सरकार, व्यवस्थापन पक्ष र सम्बन्धित सरोकारवाला नै हुने पनि संघले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : ३२ बजे