प्रचण्ड सरकारप्रति बाबुरामको अविश्वास, भन्छन्- अब संयुक्त सरकार निर्माण गरौँ

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनुपर्नेमा जोड गर्नुभएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिइरहनुभएका अध्यक्ष भट्टराइले यो नयाँ प्रस्ताव ल्याउनुभएको हो। धेरैले उहाँले प्रचण्ड सरकार माथिको अविश्वास जनाउँदै यो प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।   

''गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्न झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन'', उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ''विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकाङ्क्षा,भूराजनीतिको निरन्तर दृश्य अदृश्य दबाब,राज्यका स्थायी अङ्गहरूको क्षयीकरण र भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।''

''यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संशोधन गर्दा ठिक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ'', उहाँले भन्नुभएको छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : २२ बजे