प्रचण्डको बदलिँदो अवतार प्रचण्डपथ हुँदै गेरु वस्त्रको समाजवादी धार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतको औपचारिक भ्रमण अनि सत्ताभित्र र बाहिरका दलहरू मिलाएर बनाएको समाजवादी मोर्चाको गठनपछि केही शब्दहरू प्रचण्ड पथ, उपयोगितावाद, धर्मपथ, गेरु वस्त्र र समाजवादी मोर्चाले सामाजिक सञ्जालदेखि लिएर सञ्चार माध्यमहरूमा विशेष प्राथमिकता पाएको छ । 

मार्क्सवाद दायाँबायाँ गर्दै अघि बढ्छ भन्ने प्रचण्डको जनयुद्धमा भारतविरुद्धको सुरुङ युद्धदेखि भारतको उज्जैनको महाकालेश्वर मन्दिर पुगेर गेरूबस्त्र धारण, पशुपतिनाथमा मन्त्रीमण्डलका सदस्यसहितको धार्मिक जागरण अनि समाजवादी मोर्चामा अवतरण स्वाभाविक र प्राकृतिक देखिदैन् । तैपनि प्रचण्ड आफूलाई क्रान्तिकारी देखाउन व्यस्त छन् र भन्दै छन्, “एक थरी साथीहरूलाई के विचित्र देखियो भन्ने परेको छ । गेरु वस्त्र लगाएर कमण्डलु लिएर हिँडिदिए हुन्थ्यो भन्नेछ । म हिँड्ने वाला होइन ।”

प्रचण्डको पछिल्लो गतिविधिहरूलाई लिएर उनकै पूर्व सहकर्मी माओवादी नेता सीपी गजुरेल भन्छन्, “प्रधानमन्त्री दाहालको रूप फरक–फरक भएकाले परिस्थितिअनुसार रूप धारण गर्नुहुन्छ । पछिल्लो समय गेरु वस्त्र धारण यसकै एउटा राम्रो उदाहरण हो । अब प्रचण्डको रूप र सारमा खासै फरक छैन । रूप जे देखिन्छ, सार पनि त्यही हो । प्रचण्डको धार्मिक रूपान्तरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफलता हो ।” त्यस्तै प्रचण्ड र माओवादीको विगत र वर्तमानलाई लिएर राजनीतिक शास्त्रका प्राध्यापक गेहेन्द्रलाल प्रधान भन्छन्, माओवादी जुन वर्गका लागि लडेको थियो, त्यो वर्गको उत्थानमा माओवादीले नेतृत्व गरेको सरकारले विशेष नीति लिएको देखिँदैन । सिद्धान्त नमिल्ने दलसँग सत्ता गठबन्धन गरेपछि सबैलाई रिझाउने नीति तथा कार्यक्रम ल्याएको छ । निम्न वर्गको हित हुने कुनै कार्यक्रम छैन । प्रचण्डले सहमति र सम्झौताको नीति लिइसकेका छन् । उज्जैनस्थित महाकालेश्वरको दर्शन भारत सरकारबाट तय भएका धार्मिक कार्यक्रमलाई बेवास्ता गर्न सक्ने नैतिक क्षमता प्रचण्डमा थिएन । अनि यसलाई धार्मिक कूटनीति कै एउटा अङ्ग बनाउन मोदी सफल देखिए ।

हामीले विगतमा विवेक र चेतनाको प्रयोग नगरी भ्रममा परेर अनि भावनात्मक रूपमा भड्किएर निष्कर्षमा पुग्दा २०५२ सालदेखि आजका मितिसम्म प्रचण्डको उपयोगितावादबाट पीडित भइरहेका छौँ । यो उपयोगितावादले लगभग तीन दशक हामीलाई दुःख दिइसक्यो । अझै दुःख दिने नियतका साथ गेरूवस्त्र धारण मात्र गरेको छैन । समाजवादी मोर्चा बनाउन पनि सफल भएको छ । भलै मोर्चामा संलग्नहरूको आफ्नै कथा र व्यथाहरू छन् । 

पछिल्लो समय हाम्रो सामाजिक मनोविज्ञान र चिन्तनले सकारात्मक छोड्ने र नकारात्मक रोज्ने प्रवृत्ति देखाएको छ र खराबलाई असल देख्दै छौँ अनि विचार, नैतिकता र चरित्रहीनलाई आदर्शवान् ठान्दैछौँ । जसका कारणले राजनीतिमा सत्य, निष्ठा र इमानभन्दा असत्य, मौकापरस्त र बेइमान पात्रहरूले आफूलाई बलशाली देखाउन सक्षम हुँदैछन् । कोही दक्षिणको आशीर्वादमा त कोही पश्चिमको चाहनामा हमित कारजाई ढाँचामा नेपालको राजनीति डोर्‍याउन सक्रिय भइरहेका छन् । देशमा देखिएको यो खालको राजनीतिक प्रवृत्ति विनाशको सङ्केत हो । तर पनि हाम्रा बौद्धिक तथा प्राज्ञिक वर्गहरू सत्य के हो भन्दैनन् र लेख्दैनन् । 

भ्रम र अन्धविश्वासले मान्छेलाई बौद्धिक रूपमा अपाङ्ग र अन्धो बनाउँछ भनिन्थ्यो,  हो कि जस्तो लाग्दै छ । त्यसैले त सत्य तथ्य बुझ्ने र खोज्नेभन्दा लहलहैमा लागेर हामीले नेपालको राजनीतिमाथि प्रचण्डको उपयोगितावादसँगै रवी लामिछानेहरूको सस्तो लोकप्रियतावाद र बालेनहरूको हठवाद र स्वछन्दतालाई सहज ठानेका छौँ र त्यसलाई नै प्राथमिकतामा राखेर आफ्ना क्षमताहरू प्रदर्शन गर्दैछौँ । जसले गर्दा एकातिर विधि, पद्धति स्थापित गरेर त्यसको जगमा राजनीति गर्नेभन्दा क्षणिक लोकप्रियता कमाउने र राजनीतिक लाभ उठाउने होड चलेको छ भने अर्कातिर नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउन दक्षिणपन्थीहरूले प्रचण्डमार्फत निरन्तर लगानी बढाएका छन् ।

प्राज्ञिक वर्गको भूमिका राष्ट्रको दिगो विकासका लागि राष्ट्रिय मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउनमा केन्द्रित हुनुपर्छ नकि नकारात्मकता, स्वछन्दता र अराजकतालाई मौलाउने भाष्य निर्माण गर्ने । प्राज्ञिक वर्गले बुझ्नुपर्थ्यो, बहसको केन्द्र एकातिर अपेक्षा अर्कातिर भयो भने समस्याहरू समाधान हुँदैनन् र बल्झिरहन्छ । यो चेत हाम्रा प्राज्ञिक वर्गमा नदेखिँदा प्रचण्डको उपयोगितावाद तिसौँ वर्षदेखि नेपालको मुख्य समस्या बनिरहेको छ र अब सस्तो लोकप्रियतावाद अर्को समस्या बनेर आउँदै छ ।

केपी ओली मन नपरेर नेकपा एमालेलाई कमजोर बनाउन र सत्ता गठबन्धनको मुख्य ठुलो घटक नेपाली काँग्रेसलाई तर्साउन मात्र होइन, दक्षिण पश्चिमको चाहानाअनुसार नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउन फुटवादीहरूले १५  बुँदे सहमति पत्रसहित समाजवादी मोर्चा घोषणा गरेका छन् । 

समाजवादी मोर्चाको नभनिएको एउटै लक्ष्य नेपालमा बाह्य स्वार्थ स्थापित गर्न राजनैतिक तथा संवैधानिक माहौल बनाउने नै हो । तर तिनका १५ बुँदा जनता झुक्याउने चाल हो । प्रचण्डसँगको तिसौँ वर्षको सङ्गत, सहकार्य र राजनीतिलाई नचिनेर समाजवादी मोर्चाका वैचारिक सूत्रधार डा.बाबुराम भट्टराई जिल्लिन पुगे । प्रचण्डले समाजवादी मोर्चामा माधव नेपाल, उपेन्द्र यादव र विप्लवलाई सहभागी गराएर समाजवादी मोर्चा बनाए । अब यो मोर्चामार्फत जिल्लिने र ठगिने पालो माधव नेपाल र उपेन्द्र यादवको नै हो । विप्लवलाई त प्रचण्डले आफ्नो पार्टी माओवादी केन्द्रभित्र आफ्ना प्रतिस्पर्धीहरूलाई तह लगाउने अस्त्रका रूपमा प्रयोग गरेको कुरो कतै लुकेको छैन ।

समाजवादी मोर्चामार्फत प्रचण्डले आफ्नो राजनीतिक सम्भावना र औचित्यलाई अझ बलियो बनाउने अवसरका रूपमा लिएका छन् । आफ्नो नेतृत्वको सरकारको निरन्तरताप्रति नेपाली काँग्रेसको समर्थन नियमित र बाध्यात्मक बनाउन खोज्दै छन् । प्रचण्डको यो एकोहोरो बुझाइअनुसार एक अर्काका प्रतिस्पर्धी दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ताका लागि सहकार्य हुने वस्तुगत आधार बनेको छैन । ५४ सांसदसहित समाजवादी मोर्चाको बलमा सत्ता लम्ब्याउने र टिकाउने उनको रणनीति देखिन्छ । किन चाउरिस् मरीच आफ्नै रागले भनेझैँ चाउरिएका माधव नेपाल र मधेसमा सिके राउतको उपस्थितिबाट तर्सेका उपेन्द्र यादव पनि अस्तित्व जोगाउन समाजवादी मोर्चामार्फत सत्ता सहकार्य निरन्तर होस् भन्ने चाहन्छन् । माधव र उपेन्द्रको यो मनोविज्ञान प्रचण्डले नबुझ्ने कुरै भएन ।

प्रचण्डले आफ्नो सत्ता जोगाउन भारतसँगको सम्बन्ध बलियो बनाउने र नेपालको बहुसङ्ख्यक हिन्दुहरूको मन जित्ने ध्येयले गेरूवस्त्र धारण गरेर मोदीको आशीर्वाद अनि नेपाली जनताको साथ लिन खोजेको देखिन्छ । कति सफल हुन्छन्, अहिले नै यसै भन्न नसकिएता पनि आफ्नो नेतृत्वमा समाजवादी मोर्चा बनाएर माओवादी राजनीतिलाई आफ्नै नेतृत्वमा नयाँ कोर्समा लैजान खोज्दै छन् । त्यसैले त उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनअनुसार भारतको उज्जैनको महाकालेश्वर मन्दिरमा गेरूवस्त्र धारण गरेर बुझेको जल पशुपतिनाथमा मन्त्रीमण्डलका सदस्यहरूलाई पनि साथमा लगेर भेटीसहित चढाए ।

हिजो राजतन्त्र कालमा राजाहरूले सत्ता जोगाउन पशुपतिनाथले कल्याण गरून् भनेझैँ आज प्रम प्रचण्डले सत्ता र शक्ति जोगाउन गेरूवस्त्र मात्र लगाएनन् महाकालेश्वरदेखि पशुपतिनाथको दर्शन गर्न र आशीर्वाद लिन पनि पुगे । तर प्रचण्डका यी गतिविधिहरूले कतै पनि धार्मिक भावना जागृत गराउने उद्देश्य लिएको छैन । प्रचण्डको उपयोगितावादले यति बेला गेरूवस्त्र र नागरिकको धार्मिक भावनाको उपयोग गरेर आफू बलियो हुने रणनीतिअनुसार देवालयदेखि समाजवादी मोर्चाको कार्ड प्रयोग गरिरहेको छ ।

समाजवादी मोर्चालाई लिएर नेपाल प्रेसका प्रमुख सम्पादक मातृका पौडेल लेखेको कुरा बढी सान्दर्भिक देखिन्छ । उनले लेखेका छन्, “प्रचण्ड जब सत्ता र शक्तिको किनारामा पर्छन् वा आफ्नै पार्टीभित्र र बाहिर चलखेल गरेर आफूलाई केन्द्र भागमा राख्न चाहन्छन्, त्यो बेला उनी मोर्चा वा गठबन्धनको अस्त्र फाल्छन् । पछिल्लो समाजवादी मोर्चा त्यसको उदाहरण मात्र हो । उनले बितेको ३० वर्षमा यस्ता मोर्चा, गठबन्धन वा संयुक्त मोर्चाको प्रयोग पटक पटक गरिसकेका छन् ।” 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ५४ बजे