जसपा नेपालको विधान अधिवेशन आजबाट

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आजबाट विधान अधिवेशन सुरु हुदैँछ ।  

आजदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिवार केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेसँगै आजको विधान महाधिवेशनमा पेस हुन लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेशन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । सङ्घीय परिषद् खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।  

विधान अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुदैँछन ।  

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्य तालिका बनाइएको छ ।

पटक पटक सर्दै आएको सो विधान अधिवेशन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : ४९ बजे