कैलाली कारागारमा कैदीले फुटाए असईको टाउको

धनगढी ।  कैलालीस्थित कारागारमा हिजो (शुक्रबार) अनुगमन गरिएको छ।

काठमाडौंबाट आएको कारागार व्यवस्थापन विभागका कर्मचारीहरूको टोली, जेलर र जिल्ला प्रहरी कार्यालय कैलालीका अधिकारीहरूले अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा कारागारभित्र कैदीहरूले प्रयोग गर्दै आएका विभिन्न कम्पनीका अवैध १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ। बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।

यसअघि कैलाली कारागारमा मदिरा र लागुऔषधको खुलेआम कारोबार तथा सेवन हुने गरेको, जेलरको लापरबाही र घुस प्रकरण लगायतका विषयमा  समाचार प्रकाशन भएको थियो। उक्त समाचारपछि कारागार व्यवस्थापन विभागले अनुगमन, अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

असईको फुट्यो टाउको

यस्तै अनुगमनकै क्रममा हिजो प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन्। जेलभित्र चेकजाँच गरेर कैदी सेलबाट फर्किने क्रममा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका हुन्।

हुलमा रहेका एक कैदीले आक्रमण गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) भूपेन्द्रसिंह सामन्त घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

घाइते भएका उनको टाउकोमा टाका लगाइएको र अहिले आराम गरिरहेको बुझिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल भएको बताउँदै सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको जानकारी दिए।

यसअघि पनि कारगारभित्रै मदिरा सेवन गरेर कुटाकुट भएको थियो। केही समयअघि मदिरा सेवन गरेर कैदीबन्दी र कारागारका कर्मचारीबीच झडप भएको कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको थियो।

यता जेलर पदमराज तिमिल्सिनाले भने अनुगमन अलिअलि भएको भन्दै सबै कुरा अनुसन्धानकै क्रममा रहेको र खोल्न नमिल्ने बताए।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  २ : ३३ बजे