साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सूचना र  सञ्चार : नयाँ सोचको उपचार  

प्रलेस र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा रारासम्मको साहित्यिक सांस्कृतिक पर्यटन यात्रा गरियो । सिञ्जा उपत्यकालगायत दैलेख, कालिकोट र मुगु जिल्लाका दूर दराजका हरेक भित्ताहरूभरि नेकपा विप्लव समूहको नारा सजाएको पाइयो । 

सञ्चारको पहुँच नभएका ठाउँहरूमा अझै पनि भित्ते लेखन सूचनाको महत्त्वपूर्ण उपाय हुने रहेछ  । नेकपा एमालेले कम्तीमा ओली सरकारले गरेका देश जनताका हित, उद्धार र कल्याणका कामहरू भित्ते लेखनमार्फत उजागर गर्दा हुने रहेछ जस्तो लाग्यो । ती ती क्षेत्रमा जे जे महत्त्वपूर्ण कामहरू गरिए तिनलाई उपयुक्त तरिकाले राम्ररी उजागर गर्न सकिन्छ । 

मोरङ जिल्लाको बेलबारीमा राष्ट्रिय जनसाँस्कृतिक महासङ्घको प्रदेश स्तरको कार्यक्रम थियो । त्यहाँ केही कविता र गीत र गजल वाचन पनि स्रष्टाले गरे । महासङ्घको केन्द्रीय सल्लाहकार रहेको यो लेखक श्रोता दीर्घामा बसेर सबै श्रव्य र दृश्य हेरिरहेको थियो । 

लगभग ४० वर्ष जति जनसंस्कृति साहित्यलगायत पार्टी कामका क्षेत्रमा क्रियाशील यो मनुवालाई वाचित कविता समसामयिक लागेनन् । तर मञ्चमा केही युवा कवि, कलाकार र स्रष्टा अग्रासनमा मञ्चासीन थिए । म चाहिँ श्रोता दीर्घामा बसेको देखेर प्रमुख अतिथि महासङ्घका तत्कालीन अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य खगेन्द्र राईलाई खपि नसक्नु भएछ र उहाँले मलाई मञ्चमै बोलाउन लगाउनुभयो । तर वाचित कवितामाथि संक्षिप्त टिप्पणीसहित जयसिंह धामी मारिएका लगायत  ठगबन्धन सरकारका तमाम जनघाती विषयमा कलात्मक रचना लेख्नुपर्ने सुझाव आफूले वा अरूले नदिएकामा मन खिन्न पार्दै बिदा हुनु पर्‍यो । 

जनताका पीडा व्यथामा आधारित सिर्जना नगरी प्रकृति महिमा मात्रका आधारित  सिर्जनाले समाजलाई के सन्देश दिन्छ ?  सतही प्रचारात्मक काममा मात्र रमाउने कि परिणात्मक काम गर्ने वा सिर्जना गर्ने भन्ने अहम् प्रश्न हो । यस्ता कुरूप दृश्य धेरै तिर देख्नुपर्दा मन भारी हुन्छ । बोल्न जान्नेले बोल्नै पाउँदैन, नजान्नेकै ताउरमाउर खपि नसक्नु देखिन्छ । त्यसैले प्रचार भनेको मिडियाहरूमा भँगेरा टाउके अक्षरमा राजनैतिक नित्य कर्ममा आधारित समाचार मात्र प्रकाशन गर्नु त होइन होला । 

संस्कृति के हो सांस्कृतिक रूपान्तरण के हो भन्ने विषय त अधिकांश नेतृत्वमा काँचो र कँचिलै विषय हो । एक मुख्यमन्त्रीले व्रतबन्धको वास्तविक गुह्य थाहै नपाई बिरालो बाँध्ने शैलीमा पुत्रको व्रतबन्ध धूमधामसँग गरेछन् भन्नुको मूल अर्थ मोटै रकम खर्च गरेछन् । विराटनगर महानगरपालिकाका एमाले पार्टी अध्यक्ष सागर थापाले पनि बिरालो बाँध्ने खालकै व्रतबन्ध गरेको विषयको मैलै हल्का आलोचना गरिदिएँ । मैले चरा चराचुरुङ्गीहरू पहिलो पटक फुल भएर र अर्को पटक चल्ला भएर जन्मिन्छन् र तिनलाई द्विज अर्थात्  दुई पटक जन्मिएको भनेको हो ।  ब्राह्मणलाई पनि द्विज भनिन्छ तर त्यति मात्र होइन वास्तविक रूपमा सबै मानिस द्विज हुन् र हुनुपर्छ ।  

आमाको कोखबाट पहिलो पटक जन्मिँदा सबै मानिस शूद्र वा संस्कारहीन हुन्छन् । यस मानिसलाई शिक्षा, दीक्षा, आचार, आचरण, खानपान, स्वास्थ्य, सरसफाइ जस्ता काम र कुरा गर्न वा संस्कारयुक्त बनाएपछि मानिसको अर्को जन्म हुन्छ । यसलाई पुर्खाहरूले उपनयन वा व्रतबन्धको नाम जुराएर यसको विधान गरिएको हो । यसरी  व्रतबन्धको नालीबेली लगाएपछि सागर थापाले यस सम्बन्धी सत्य तथ्य कुरा अहिलेसम्म थाहा नपाएका खिन्नता प्रकट गरे । अर्थात् पार्टी र धेरै जसो नेताको सांस्कृतिक चेत कस्तो रहेछ भन्ने थाहा हुन्छ । 

त्यसैले व्रतबन्ध भनेको शास्त्र अनुसार नै तमाम मानिसको गर्ने हो, गर्नुपर्छ र  गर्न मिल्छ । पूर्वका व्यास भनेर चिनिनुभएका पं.छविलाल पोखरेलले आदिवासी, जनजाति, दलित र महिला आदिको व्रतबन्ध गरिदिनुभएको हो । के यस्ता कुरा प्रचार प्रसारका महत्त्वपूर्ण सामग्री बन्न सक्तैनन् ? समाजको गुणात्मक रूपान्तरण गर्ने हो भने यस्ता अनेकन् विषयमा खोज पत्रकारिता पनि गर्नुपर्ने हो । सञ्चार प्रचारको बहुआयामका सामान्य जानकरी हुनुपर्छ । कुनै पनि विषयमा सियो देखि फालीसम्मको ज्ञानले मात्र ज्ञान विस्तारित गर्नै सकिन्छ । 

प्रचार प्रसारका विषयमा सामन्तवादी र पुँजीवादीबाट पनि सिके हुन्छ । सामन्तवादले बिहानदेखि राती अबेरसम्म भजन कीर्तन श्लोकमार्फत हरेक कर्मलाई आफ्ना वर्गीय विचार चिन्तन र संस्कृतिसँग जोड्छ । भात खानुभन्दा पहिले नै सामन्तवादले भजन गाउन लगाउँछ, जस्तै ओम् भूपतयो स्वाहा …आदि । अझ यतिसम्म अन्धविश्वासी श्लोक र भजन तयार गरेर पश्चगामी संस्कार संस्कृतिको व्यापक प्रयोग र प्रचार गरेर अग्रगमनको मार्ग नै अवरुद्ध गर्छ र गराउँछ । तर कम्युनिष्टहरु घर परिवारका र पार्टीका कार्यक्रममा दिनभर जसो अग्रगामी सांस्कृतिक सन्देशमूलक विचार प्रचार, प्रसार र प्रवाह गर्दैनन् ।     

सञ्चार र प्रचार आक्रामक पनि हुनुपर्छ । त्यसो भयो भने देशभरि प्रचारको तरङ्ग जान्छ । सदा एक रस र लयको प्रचार प्रसारले मात्र हुँदैन । ओली सरकारका विरुद्ध विपक्षले आक्रामक दुष्प्रचार गरेकाले जनमानस नै भाँडिने अवस्थामा पुगेको थियो । गायक पशुपति शर्माले लुट्न सके लुट भन्ने गीत लेख्नुको अन्तर्य दुष्प्रचारको दुष्प्रभाव नै हो । किनकि उनले गीत लेखनको पृष्ठभूमिबारे बोल्दा सबै यस्तै भन्छन् भनेका छन् । दुष्प्रचारले अपसंस्कृतिको निर्माण गर्छ । त्यसैले मार्क्सले सामाजिक परिवर्तन भए पनि हाम्रो मानसिकतामा पुरानै शासकको विचार र संस्कृतिले लामो समयसम्म वर्चस्व कायम गरेको हुन्छ भन्नुभएको छ । त्यसैले प्रचार प्रसार र सञ्चार मात्रात्मक र गुणात्मक पनि हुन्छ । गुणात्मक रूपान्तरण गर्ने खालको प्रचार गर्ने कुरामा पनि बेलैमा ध्यान दिनुपर्छ । 

प्रगतिशील पक्षधर धेरै जसो छापा र विद्युतीय पत्रिकामा परम्परागत रुढी ग्रस्त धार्मिक सांस्कृतिक वैचारिक र धारणाहरू बारबार प्रवाहित हुन्छन् । र तिनले अर्ध नग्न महिला वा बेड सिनहरू समावेश गरेका समाचार र विचार खुल्ला हृदयले प्रवाह गरिरहन्छन्  । यही विषयमा ती पत्रकारसित मेरो अरि परेको हो । कम्तीमा नेपालको संविधान २०७२ अनुसार सबै खालका अन्धविश्वास, चरम रुढीवाद, शोषण अन्याय र अत्याचार चरम विभेद विरोधी विचार र समाचार प्रकाशित गर्ने समेत सोच नभएपछि कसरी सामाजिक रूपान्तरण कत्ति हुन्न । 

सञ्चार र प्रचारको रूप र सार पक्ष हुन्छ । खँदिलो सार भए पनि रुपतत्व पनि आकर्षक नै हुनुपर्छ । सुनसरी दुहवीमा केही समय अघि एक वरिष्ठ नेताले आम निरक्षर महिला भेलामा सम्बोधन गरेको देखेर दया नै लाग्यो । त्यति बेला ती मैथिली थारु भाषी महिलालाई त्यही भाषाका एकाध वाक्यसहित महिलामाथि भए गरेको उपेक्षा र अपमानसहित विषय उल्लेख गरेको भए तिनीहरू ध्यान दिएर  भाषण सुन्थे र भाषणको प्रभाव पनि राम्रै पर्थ्यो । अझ त्यति बेला हाल सेवा निवृत्त राष्ट्रपति विद्या भण्डारीलाई विरोधीहरूले अनर्गल गाली बर्साएको अवस्था थियो । त्यही विषय टिपेर वा मिसाएर विपक्षीको दोहालो काट्न सकिन्थ्यो । यसरी श्रोता र सहभागी अनुसार बोल्नै नआएपछि कसरी प्रभावकारी सञ्चार प्रचार हुन्छ ? जबज अनुसार राम्रो काम र कुरा पनि राम्रै तरिकाले भन्न जान्नु पर्‍यो नि ।

लाख सेनाले गर्न नसकेको काम एक प्रभावशाली अखबार र मिडियाले गर्छ र यसले त्यस देशमा लामो समय शासन गर्न सक्छ । यो कुरा त्यसै भनेको होइन । बोल्ने को पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन, यो कुरा  निरक्षर पुर्खाले भनेका हुन् ।  

पत्रकारितासँग सम्बन्धित रैथाने ज्ञान पनि उपयोगी हुन्छन्  । कसलाई र कुन विचार र चिन्तनलाई उत्साहित गर्ने र नगर्ने भन्ने कुरा पनि हुन्छन् । सञ्चार र प्रचारका क्षेत्रमा पनि जस्तालाई त्यस्तै गर्नुपर्ने अवस्था हुन्छ । पार्टी अध्यक्ष ओलीले भन्नुभएझैँ हाम्रो अति सज्जनता, अज्ञानता, हुस्सूपना भित्र पसेर र बसेर पीत पत्रकारिताले हामीलाई नै समाप्त पार्न सक्छ । आफ्ना सही विचार, मान्यता र देश जन पक्षधर कामहरू कलात्मक रूपमा औपचारिक वा अनौपचारिक रूपमा प्रवाह गर्नु पर्ने हो तर त्यस्तो पनि  भइरहेको छैन । पत्रकार बन्नु समाचार सङ्कलन र सम्पादन गर्नु मात्र होइन, लेखक विश्लेषक बन्नु पनि हो । 

चौतारीले यतिका वर्षमा औँलामा गन्न सकिने लेखक पत्रकार कति जन्मायो  ? मुखभन्दा काम चाहियो । साइवर सेनाको सञ्जाल यति छिटै कहाँ बिलायो । ज्येष्ठ कम्युनिष्ट मञ्च प्रचारको महत्त्वपूर्ण पक्ष हो । तर यसको जिम्मा लिने नेताकै अभाव होला । यो क्षेत्रले वैदिक किरात सनातन धर्म संस्कृतिका कैयौँ जीवनोपयोगी पक्षहरूलाई संरक्षण संवर्द्धन गर्नु पर्ने र नकारात्मक पक्षलाई क्रमशः अस्वीकार गर्नु जरुरी छ । 

अधिकांश आफूलाई प्रगतिशील भन्ने अधिकांश पत्रकारहरू मृत आत्माको चिर शान्तिको कामना गर्छन् । अर्थात् तिनमा मार्क्सवादी र जबज अनुसारको चेत, चिन्तन र चरित्रकै अभाव देखिन्छ । पत्रकारिताको वर्गधरताबारे सविस्तार प्रशिक्षित गर्नु अपरिहार्य छ । यस क्षेत्रमा यदाकदा सम्मान र पुरस्कार दिने गरे पनि लेखक विश्लेषकहरूलाई खास मापदण्डका आधारमा सम्मानसहित मैत्री भाव देखाए लेखन क्षेत्र प्रोत्साहित हुन्थ्यो । गठन, पुनर्गठन, सदस्यता वितरण र नवीकरण जस्ता नित्य कर्म जस्ता मात्र काम गरेर यो क्षेत्र किमार्थ  गुणात्मक हुँदैन । बहुविषयज्ञ भएर बहुप्रभाव पार्न सक्ने यो क्षेत्र यति साह्रो निर्धो हुन सुहाउँदैन । पत्रकारहरूका बीच राष्ट्रियताका सवालमा ऐक्य बद्धता कायम गर्न ध्यान दिनुपर्ला ।  विरोधीहरू के कसरी आउँछन् र आइरहेका त्यसमा ध्यान दिएर तयारी गर्नुपर्छ  । भ्रान्तिपूर्ण सञ्चार र प्रचारका कारण एमाले नै एमालेसित असन्तुष्ट भएको देखिन्छ । भ्वाइस मत एमाले विरुद्ध रहेको छ अर्थात् केन्द्रका केही ठुला मिडियामार्फत चरम एमाले विरोधी आवाज प्रवाह गरिएको छ । तर पातलो नै भए पनि देशव्यापी जनमत एमालेकै पक्षमा रहेको देखिन्छ अर्थात् चारैतिरबाट स्याल हुइयाँ सरी प्रोपगण्डा मिडिया भुकेपछि त्यसको कुप्रभावमा कार्यकर्ता नै परेको स्पष्ट हुन्छ । त्यसैले यस क्षेत्रलाई नयाँ सिराबाट गम्भीर अध्ययन गर्नुपर्छ र प्रभावकारी प्रचारलाई संयोजन गर्नुपर्छ । वक्ता वा प्रवक्ता कमरेडले पनि स्पष्ट र प्रभावकारी प्रस्तुति दिनुपर्छ । मुसाले सुन्छ कि भनेजस्तो गरेर साउतीको भाषामा बोलेर हुन्न । नेतृत्वले परिणाममुखी मिडिया मैत्री भावना विकसित गर्नुपर्छ । राम्रा काम गर्ने तर प्रभावकारी सञ्चार प्रचार र प्रसार नहुनु जस्तो दुखद कुरा अरू के हुनसक्छ ? 

इटहरीवासी लेखक एमाले कोसी प्रदेश संस्कृति विभाग प्रमुख हुनुहुन्छ । 

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : २४ बजे