घरधनीले अटेर गरेपछि इटहरीमा प्रहरी लगाएर चलाइयो डोजर

विराटनगर ।घरधनीले  ६ लेन सडक क्षेत्रमा पर्ने घर भत्काउन आलटाल गरेपछि इटहरी उपमहानगरले  प्रहरी लगाएर डोजर चलाएको छ ।

इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो ।

रानी-विराटनगर-इटहरी-धरान सडक आयोजनाअन्तर्गत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले शुक्रबार बिहान दोस्रो पटक डोजर चलाएको हो । यसअघि उपमहानगरले गत माघ महिनामा विराटनगर लाइनमा पर्ने वडा नम्बर ६ का ३४ वटा घर भत्काएको थियो ।

वडा नम्बर ९ का एक दर्जनबढी घर भत्काएपनि केही घरधनीले अटेर गर्दै आएका थिए । पटक-पटक आग्रह गर्दा पनि ९ नम्बर  केही घरधनीले घर नभत्काएपछि बल प्रयोग गरेर भत्काउन सुरु गरिएको मेयर पौडेलले बताउनुभयाे।

ती घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ पूर्णरुपमा सडक विस्तार हुन सकेको छैन । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र इटहरी ९ स्थित विराटनगर लाइनमा भने केही स्थानीयको अवरोधले सडक विस्तारको काम बाकी नै छ ।

पौडेलले सडक क्षेत्रभित्रका संरचना निरन्तर भत्काउँदै जाने बताए । विकासको काममा विरोध नगरौं भनेर सबै घरवालालाई सम्झाए पनि केहीले समय मागेर पनि अटेर गरेपछि डोजर चलाएको बताए ।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । २०६९/०७० बाट सुरू भएर सात वर्षभित्रमा ६ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको भएपनि स्थानीयको अवरोधले काममा ढिलाइ भएको आयोजनाको भनाइ छ । सुरूवातमा पूरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : ०९ बजे