गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँच जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । 

दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नबिना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहनुभएका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताउनुभयो । उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ । 

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । 

घटना लगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको बताइएको छ । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : २३ बजे