किन हामी सोचेजस्तै सफल हुँदैनौँ ?

नेपाली समाजको अवस्थाका बारेमा चर्चा गर्दा यस्तो लाग्छ यहाँ कुरा ठुला ठुला हुन्छन्, योजना बनाइन्छ, घोषणा गरिन्छ, आम मानिसलाई भ्रममा पारिन्छ, पर्छन् तर काम भनेजस्तो हुँदैन, अर्थात् घोषणा गरेजस्तो प्रगति हुँदैन । यो आमचलन बनेको छ किन ? किनकि हामी कामको नतिजामा भन्दा प्रचारमा र सस्तो लोकप्रियतामा रमाउँछौँ । क्षणिक प्रचार र खुसीमा सीमित हुन पुग्छौँ ।समाज प्रचारमा रमाउँछ, घोषणामा अलमलिन्छ । निकै धेरैले यस्तै घोषणा र प्रचारलाई विश्वास गर्छन् । 

समाजका धेरै मानिस आफ्नो असफलताको दोष अरूलाई दिन्छन् । आफूmले पाएको दुःखको कारण अरूलाई देख्छन् । तर, आफूमा के कमजोरी भयो भनेर खोज्दैनन् । फर्केर हेर्दैनन् । त्यसैले आफ्नो दुःखको अन्त्यका लागि कुनै नायकको र चमत्कारको पर्खाइमा हुन्छन् । 

आफ्नो अवस्थामा सुधार ल्याउन, आफ्ना कमजोरी सुधार्नुपर्छ । कमजोरी सुधार्न आफूmमा भएका कमजोरी के हुन् त्यो थाहा पाउनुपर्छ । तर, विडम्बना धेरै मानिसलाई आफ्ना कमजोरी नै थाहा हुँदैन । थाहा भए पनि कमजोरीलाई सुधार्नभन्दा ढाकछोप गर्न लाग्ने गर्छन् । 

प्राय धेरै मानिसले नेतालाई गाली गर्छन्, नेतालाई गाली गरेको मन पराउँछन् । नेतालाई गाली गर्दा आनन्द मान्छन् । नेता ठिक भए सबै कुरा एकै दिनमा ठिक हुने ठान्छन् । तर आफूm पनि आफ्नो क्षेत्र, आकार, जिम्मेवारीको नेता हुँ भन्ने कुरा बिर्सन्छन् । 

हरेक मानिस आफ्नो लागि आफै नेता हो । के खाने वा नखाने, कस्तो लाउने, कस्तो काम गर्ने, के नगर्ने, कुन काम गर्ने, काम कसरी गर्ने, कस्तो सङ्गत गर्ने, कसरी बोल्ने, इमानदार बन्ने कि नबन्ने आदि जस्ता कुरामा निर्णय गर्ने नेता अरू कोही नभएर हामी आफै हौँ ।

हामी घरको र परिवारको अभिभावक हौँ भने परिवारको नेता हौँ अर्थात् उपनेता हाैँला । समाजको सदस्य हाैँ । कतिपय अवस्थामा समाजको, टोलको, संस्थाको नेता हौँ । अहिलेको समाजमा अलिअलि बोल्न जानेको मानिस नेता नभएको भेट्न मुस्किल छ । केही नभए वरिष्ठ समाजसेवी भनेर पगरी गुथाएर भए पनि मञ्चासन गराउने चलन छ । खादा, माला, आसन, भाषण बेलाबेलामा पाइरहने यस्ता सबै मानिस नेता नै हुन् । तर आफू पनि नेता भएको कुरा बिर्सिएर माथितिर फर्केर राजनीतिक नेतालाई गाली गर्न आनन्द मान्छौँ । अहिले भागाभागमा परेका सहकारी संस्थाका नेताले कति अरू नेतालाई गाली गरेका होलान् । अझै गर्दै होलान् ।

देश आफै बन्छ, पहिला आफूmलाई बनाउनुहोस् । देश आफैm सुध्रिन्छ, पहिला आफूmलाई सुधारौँ । पहिला आफूmलाई सफल बनाउने काममा लाग्नुहोस् । तर एउटा सर्तमा आ बन्दा, आफूm सफल हुँदा अरूलाई अन्याय गर्नु हुँदैन । आफूm सफल हुन कुनै व्यक्ति, समूह, संस्था, समाज, देश आदिको अहित हुने काम गर्नु हुँदैन । अझ अगाडि बढेरभन्दा एउटा मानिस सफल हुँदा उसले धेरैलाई सफल बनाउने काम गर्छ । तर, असफल मानिसले अरूलाई पनि असफल नै बनाउँछ । तर विडम्बना हामी आफूm सफल हुन अरूलाई बिगार्नै पर्ने, अरूको कुभलो गर्नै पर्ने, अरूको हित गर्नै नसकिने सोचबाट धेरै ग्रस्त छौँ ।

अरूको अहित नगरी, अरूलाई पनि सँगै लिएर सफल हुने काम गर्न ज्ञान, सिप, क्षमता, धैर्यता, लगनशीलता आदि चाहिन्छ । अरूलाई छलछाम गरेर, छलेर, ढाँटेर, अझ कमजोरलाई भुलभुलैयामा पारेर आफूm सफल हुन धेरै मेहनत गर्नु पर्दैन । धूर्तको सङ्गत गरेर, अलिकति धोत्र्याई सिकेर आफूmभन्दा कमजोरलाई लोभ देखाएर, छलछाम गरेर पदको लाभ, आर्थिक लाभ सजिलै हात पार्न सकिने समाज हो यो । धेरै नेता (सबै क्षेत्रमा) र धेरै नव धनाढ्यले यो नीति अपनाएको देखिन्छ । पद र पैसाको पावर भएकाहरू नैतिकताको कति पनि ख्याल नगरी राज्यको सम्पत्तिमा दोहन गर्न लागेको देखिन्छ । यसमा कालेकाले मिलेर खाऊँ भाले नीति अपनाएका छन् । अर्थात् चोर चोर एकै ठाउँमा देशलाई ठग्न, आफ्नालाई र आफन्तलाई ठग्न, अरूलाई ठग्न । 

हामी सप्रिनु भनेको हामी चोरहरूको झुन्डमा नमिसिनु हो । उनीहरूको लुटमा सहभागी नहुनु हो । नसघाउनु हो । सित्याईमा पाउने सुविधा र लाभको पछि नलाग्नु हो । हाम्रो विश्वास बदल्नु हो । मेहनतको कमाइमा विश्वास गर्नु हो । आफूmलाई जोगाउनु भनेको भ्रष्टहरूको (चोरहरूको)सङ्गतबाट टाढा बस्नु हो । भ्रष्टहरूको कमाइमा आसा नगर्नु हो । त्यस्तो कमाई र त्यस्ताको चाकडी गरेर प्राप्त हुने पद र पैसाबाट टाढा बस्न रुचाउनु हो । के यसरी आफूmलाई परिवर्तन गर्न तयार हुन्छौँ ? के हामी कुनै पनि प्रकारको गलत कार्यको विरोध गर्ने र गलत कमाइको विरोध गरेर त्यसलाई तिरस्कार गर्न सक्ने अवस्थामा छौँ ? यदि छौँ भने खराब मानिस आफ्नो मात्रै नेता हुनसक्छ, तर हाम्रो, अरूको, समूहको, समाजको, देशको नेता हुनै सक्दैनन् । हामी नै खराबबाट असल तिर लाग्दैनौँ, गलत कमाइलाई बहिस्कार गर्दैनौँ भने हामीले खराबलाई सघाई रहेका हुनेछौँ । यस्तो अवस्थामा हामी आफ्नो स्वार्थका खातिर खराबलाई नेता हुन सघाई रहेका हुन्छौँ । 

कतिपयलाई लाग्छ मैले मात्रै राम्रो गरेर के हुन्छ अरू सबै खराब छन् । यो सोच पनि गलत छ । म राम्रो गर्छु, हामी राम्रो गरौँ । यो सही बाटो हो । अरूको खराब कामलाई देखाएर खराब गर्ने छुट कसैलाई हुँदैन । यसो गर्नु भनेको आफूm पनि खराब हुनु नै हो । जो साँच्चै विश्वासका साथ खराब छन् तिनले सबैलाई खराब देख्छन् । उनीहरूको त विश्वास हो । को छ र नखाने ? यस्तो दर्शन बोकेकाहरू सुध्रिने चान्स निकै कम हुन्छ । यस्तालाई अति नै अल्पमतमा पारेर कारबाहीको दायरामा ल्याउन आवश्यक हुन्छ वा बहिस्कार गर्न आवश्यक हुन्छ । 

हामी सभ्य समाज, सुन्दर समाज, न्यायपूर्ण समाज, समता मूलक समाज बनाउन चाहन्छौँ । यो अवश्य हो तर आफैm यो समाज निर्माण गर्ने कुरामा बाधक पनि त बनेको हुन सक्छौँ । आफूलाई सुधार्दै लैजाँदा व्यक्ति सुधार हुने, व्यक्तिबाट परिवार सुध्रिने, समाज सुध्रिने र देश नै सुध्रिने अवस्था हुन्छ । त्यसैले भनेको होला आफूलाई परिवर्तन गर दुनियाँ परिवर्तन हुन्छ, भनेको । आफू भलो जगत भलो । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो । जस्तो सोच उस्तै दृष्टिकोण र जस्तो दृष्टिकोण उस्तै कर्म (काम) । जस्तो कर्म त्यस्तै नतिजा । 

धेरै मानिसहरू आफ्नो काममा, योजनामा, परीक्षामा भनेजस्तो सफल हुन सकिरहेका हुँदैनन् । व्यवसाय, पेसामा राम्रो गर्न सकिरहेका हुँदैनन् । समाज सेवा गर्छु भनेर लागेकाहरू पनि आफूलाई सफल ठान्दैनन् । जब सबैतिरबाट आफूलाई असफलै असफल मात्रै पाउँछन् त्यसपछि मानिस उत्साहले होइन निराश भएर जीवन जिउन बाध्य हुन्छन् । उमेर भएकाहरू केही लागेन अब बरु विदेश जान्छु भन्छन् । यहाँ कुनै सम्भावना नदेख्नेहरू बेलैमा विदेश जाने सोच बनाएर तयारी गर्छन् । आजको अवस्था । 

जे गरे पनि असफल किन हुन्छन् मानिस ? 
​​​​​​​डाक्टरले दिनभरि चेम्बरमा बसेर बिरामी जाँच्ने बेलुका आज कति पैसा भएछ भनेर मात्रै चिन्तन गर्ने हो भने डाक्टर असफल । बिरामीको सन्तुष्टि, अवस्था र उपचार कस्तो भयो भनेर चिन्ता गर्नुपर्छ । शिक्षकले कक्षा कोठामा गएर पढाएकै हो भनेर सन्तुष्टि गर्ने तर विद्यार्थीले सिके नसिकेको बारेमा वास्ता नगर्ने हो भने शिक्षक असफल । कर्मचारीले म काममा गएँ, आफ्नो भागमा परेको काम गरे । समयसम्म बसेकै हो भनेर ढुक्क हुने हो भने कर्मचारी असफल । दिनभरि गरेको कामले कतिलाई सन्तुष्टि पार्न सकियो र गरेको कामको नतिजा के आयो भनेर चिन्तन गरे मात्र सफल । 

व्यवसायी, व्यापारीले दिनभरि पसलमा बसेकै हो किन्न आउनेलाई बेचेकै हो । भनेर आनन्द मान्ने हो भने व्यापारी फेल । दिनभरिमा गरेको व्यापारबाट के नतिजा निस्कियो, ग्राहकको सन्तुष्टि कुन अवस्थाको रह्यो भनेर चिन्तन गर्ने हो भने मात्रै व्यवसायी सफल । सामाजिक वा राजनीतिक नेताले भाषण गरेको, आसन ग्रहण गरेको, कार्यक्रममा पुगेको, सहभागी भएको, नमस्ते पाएको, बैठक गरेको, खादा माला लाएको आदि जस्ता कुरालाई मात्रै सफलता मान्ने हो भने नेता फेल । धेरै राजनीतिक नेता र सामाजिक नेताहरू कार्यक्रम गर्नु, प्रचारमा आउनु, पदमा पुग्नु, पद पाउनुलाई नै सफलता मान्ने गरेको देख्छु । ती सबैले गरेको कामबाट के नतिजा आयो भनेर हेर्ने गरेनन् र आफूmले गरेको कामको नतिजामा ध्यान दिएनन् भने ती नेता फेल । 

खेलाडीले खेल्दैमा सफल भएको मानिँदैन, नतिजा निकालेपछि मात्रै सफल हुन्छन् । विद्यार्थी पढ्दैमा सफल हुँदैन । मापन सिकाइमा हुन्छ । यस्तै कलाकार, अनुसन्धान कर्ता, सञ्चारकर्मी, पेसा कर्मी, व्यवसायी, युवा, राजनीतिज्ञ, समाजसेवी, किसान, कर्मचारी आदिले आफ्नो काम गर्दैमा सफल हुन्छन् नै भन्ने हुँदैन । सफल हुने गरी अर्थात् घोषित लक्ष्य प्राप्तिको अवस्थासम्म आफ्नो कामलाई पुर्‍याउनुपर्छ । त्यसैलाई नतिजा भनिएको हो । अर्थात् कामलाई नतिजासँग जोडन सके मात्र सफल हुने हो । 

हामी मध्ये धेरै मानिस आफ्नो काममा उति सफल हुन सकेका हुँदैनौँ । अर्थात् पूर्ण सन्तुष्टि गरेको कामले दिँदैन । यसो हुनुको कारण हामीले काममा आवश्यक ज्ञान, पुरा मेहनत र कामलाई नतिजासँग जोडन सकेका हुँदैनौँ ।

आफ्नो रुचि, अनुकूल र रोजाइको काम गरौँ, गरेको काममा सिप र ज्ञानको विकास गरौँ, सम्पूर्ण ध्यान आफ्नो काममा लगाऊँ, गरेको कामलाई नतिजासँग जोडौँ । कसैले असफल हुनु पर्दैन । 

आफू नेता भएको महसुस गरौँ र आफ्नो नेतृत्वलाई कुनै हालतमा असफल हुन नदिऊँ । आफूm सफल भए व्यक्ति सफल परिवार सफल, संस्था सफल, समाज सफल, देश सफल हुन्छ । हामी सफल हुँदा गलत वा खराबलाई नेता मान्दैनौ, बनाउँदैनौँ । आफैm असफल हुने गरी काम गर्नेले खराबलाई नेता बनाउने र नेता मान्न बाध्य हुने अवस्था आउँछ । खराब नेता बनाउने, मान्ने, चाकडी पनि गर्ने र नेतालाई गाली गरेर आफूलाई सधैँ तनावमा पार्ने कामले कसैको हित गर्दैन । न आफ्नो, न अरूको । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ५६ बजे