उपप्राध्यापक चलाउनेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफू विरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिनुभएको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । 

उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा हुने भएको छ । 

आफूमाथि साङ्घातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै उहाँले बुधवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। उहाँले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गर्नुभएको थियो ।  

त्रिभुवन विश्वविद्यालयका समाज शास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा थियो । तर, उक्त मुद्दा सरकारले फिर्ता लिएको छ । जसविरुद्ध चलाउने अनशन बस्ने भन्दै गत सोमबार जिल्ला अदालत पुग्नुभएको थियो। सो क्रममा उहाँसहितलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

 

 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ११ : ४३ बजे