साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चौतारा साँगाचोकगढी नगरपालिका : पूर्वाधारदेखि कृषिसम्मका सकारात्मक अभ्यास

​​​​​​​सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाकी  शान्ता अर्याल घर अगाडिको बाटो बनेसँगै दङ्ग छिन् । आँगनै अगाडिको बाटो कालोपत्रे भएपछि उनी दङ्ग देखिएकी हुन् ।

वर्षौँदेखि धुलोकै कारण सास्ती खेप्दै आइरहेकी अर्यालको बाटो बनेसँगै दैनिकी फेरिएको छ । बाटोमा पानी छर्कँदै बित्ने उनका दिन आजभोलि अन्य घरायसी काम गरेर बित्ने गर्दछ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको बजेटमा गत वर्ष कालोपत्रे भयसँगै शान्ताको मनमा खुसी छाएको हो ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये सबैभन्दा ठुलो चौतारा साँगाचोकगढी नगरपालिका हो । सिन्धुपाल्चोकमा रहेका अरू स्थानीय तहहरूभन्दा पृथक् ढङ्गले काम गरिरहेको छ ।

नगरपालिकाले स्थानीय निर्वाचनको पहिलो एक वर्ष नसकिँदै  नयाँ र सकारात्मक अभ्यासको थालनी समेत गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा उल्लेख्य प्रगति भएको विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष ०७९÷८०को दश महिनामा सम्पादन गरेको कार्य प्रगतिको प्रतिशत ७० पुगेको छ ।

वान साइड पार्किङ

वान साइड पार्किङको नियम लागु गरेपछि सदरमुकामसमेत रहेको चौतारा बजारमा सवारी साधन पार्किङको समस्या न्यूनीकरण भएको छ ।

बढ्दो सवारी साधनको चाप र साँगुरो सडकका कारण वर्षादेखि बजार क्षेत्र अस्तव्यस्त हुँदै आएको थियो । जथाभाबी पार्किङ गर्ने र सवारी साधन जामका कारण हैरानी बेहोर्दै आएका सदरमुकामवासीले वान साइड (एकतर्फी )पार्किङ नियम लागु गरेपछि राहतको महसुस गर्न थालेका हुन् ।

चौतारा साँगाचोकगढी वडा न ५ ले बजारलाई व्यवस्थितत गर्नका लागि वान साइड पार्किङका नियम लागु गरेको वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो ।

मोबाइल भर्ना अभियान

शिक्षा क्षेत्रमा अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चितका लागि नगरपालिकाले मोबाइल भर्ना अभियान सुरु गरेको छ । आधारभूत शिक्षाका उमेर समूहका शत प्रतिशत बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराउने उद्देश्यले सो अभियान सुरु गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले विद्यालय बाहिर कोही बालबालिका नरहने घोषणा सबै वडाहरूमा गरिएको बताउनुभयो ।

भौतिक पूर्वाधार

चौतारा साँगाचोकगढि नगरपालिकाले भौतिक पूर्वाधारलाई पनि प्रमुख प्राथमिकतामा राखेको छ । नगरपालिकामा नयाँ नेतृत्व आएसँगै गत वर्ष नयाँ ट्र्याक २० दशमलव १० किलो मिटर निमार्ण कार्य सम्पन्न भएको छ भने ३ सय १० किलो मिटर सडक स्तरोन्नति भएको छ र २ दशमलव १५ किलो मिटर सडक कालोपत्रे गरिएको छ । ५९ वटा सामुदायिक भवन निमार्ण तथा मर्मत गरिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ४ मा सहिद स्मृति पार्कको ५० लाख बजेट विनियोजन गरी निमार्ण भइरहेको ,शंखधर पार्क निमार्णलाई ८ लाख बजेट निमार्ण कार्य सम्पन्न गरिएको उल्लेख गरिएको छ । कृष्ण मन्दिर निमार्ण कार्य भइरहेको छ । बुद्ध पार्कको बाँकी काम सम्पन्न गर्न बजेट सुनिश्चित गरिएको ,एउटा खेलमैदान , ट्रस पुल ,झोलुङगेपुल निमार्ण कार्य सम्पन्न भएको उल्लेख छ ।

मृतक परिवारलाई ५ हजार

नगरपालिले नगरभित्र रहेका नगरवासीको मृत्यु हुँदा मृतक परिवारलाई ५ हजार प्रदान गर्दै आएको छ । मृतक परिवारका सदस्यलाई क्रिया खर्च बापत दिँदै आएको सो रकमको निरन्तरता दिएको नगर प्रमुख सापकोटाले जानकारी दिनुभयो । हालसम्म नगरपालिकाले ३ सय २६ परिवारलाई ५ हजार प्रदान गरिसकेको छ ।

कृषकहरूका लागि शीत भण्डार

चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीयले उत्पादन गरेका कृषि उत्पादनलाई पछि सम्मको लागि भण्डार गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका–४ मा शीत भण्डार निर्माण सुरु गरिएको छ ।

यो शीत भण्डार निर्माण सम्पन्न भएपछि नगरपालिकाका धेरै किसानहरूले उत्पादन गरेको कृषिजन्य सामग्रीको भण्डारणका लागि सजिलो हुने छ । त्यस्तै अघिल्लो वर्ष नै नगरपालिकाको ५ नम्बर वडाको चौतारा बजारमा निर्माण सम्पन्न भएको मिनी शीत भण्डारलाई यो वर्षदेखि सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : ३८ बजे