जहानगिरको शतकमा नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

हरारे । सयान जहानगिरको अविजित शतकप्रेरित अमेरिकाले आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह बीमा नेपाललाई दुई सय आठ रनको लक्ष्य दिएको छ।

जिम्बाब्वेको तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गर्यो।

अमेरिकाका लागि सातौं नम्बरमा क्रिजमा उत्रिएका जहानगिरले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन पूरा गरे।

नेपाली बलिङसामू सघर्षरत अमेरिकाका लागि जहागिर संकटमोचक साबित भए। ओपनर सुशान्त मोदानीले ४२ बाहेक अन्य अमेरिकी ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर तीन मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। ललित राजवंशीले पनि एक अमेरिकी ब्याटरलाई पभिलियन फर्काउँदा सन्दीप लामिछाने विकेटविहीन रहे।

आइतबार देखि सुरु भएको विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो। आज दुई सय आठ रनको लक्ष्य पूरा गर्न सके नेपालले प्रतियोगितामा पहिलो जित निकाल्ने छ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ०८ बजे