साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमालेमा ओली व्यक्तित्वको  खोजी

देशले अग्लो र सग्लो नेता खोज्छ । अनेक कष्ट र कहर खेपेर घरका  लालाबालाको हितलाई सर्वोपरि राखेर काम गर्ने खालको अभिभावक जनताको चाहना हुन्छ । यस हिसाबले हेर्दा पुष्पलाल, बिपी, गणेशमान, मनमोहन, साहाना र   मदन भण्डारी  सम्झनामा आउनुहुन्छ । उहाँहरूलाई सर्वगुण सम्पन्न त भन्न नमिल्ला तर कमी कमजोरीका अतिरिक्त उहाँहरू अनुकरणीय नेताहरू हुनुहुन्छ ।

नेकपा एमालेका पार्टी अध्यक्ष के.पी.शर्मा ओली तुलनात्मक रूपमा हेर्दा धेरै  प्रभावशाली हुनुहुन्छ । यस्तो तुलना देशमा मात्र होइन विदेशी मुलुकका जीवित नेताहरूसित गर्न सकिन्छ । तर हीनताग्रस्त मनोविज्ञानका कारण कतिपय सचेत व्यक्तिहरू नेपाली प्रज्ञा, प्रभा र प्रतिभालाई हेला होचो गर्न अघि सर्छन् । देवकोटाले यस्ता विकार ग्रस्त मनोदशालाई सन्देश दिन के नेपाल सानो छ ? भन्ने निबन्ध लेख्नुभएको हो तापनि सत्य तथ्य कुरालाई आत्मसात् नगर्ने जीर्ण रोगका कारण   बौद्धिक भनिने केही व्यक्ति आफू हेपिएकामा खास चिन्ता नै गर्दैनन् ।  बालख कालदेखि नै नेपाल र नेपाली हुनुमा गर्व गर्ने शिक्षा र संस्कारका अभावमा हामी आफैँ हेपिएकामा त्यति दुःख मान्दैनौँ । मान्छेभन्दा हात्ती ठुलो भन्ने चरम भ्रम हामीमा व्याप्त रहेको छ । अनि मरेपछि खा बाबै…… भनेझैँ गर्ने हाम्रो बेहोरा पनि जिम्मेवार छ । 

बाचुन्जेल मात्र होइन मरेको धेरै वर्षपछि पृथ्वी नारायण शाहलाई हामी बल्ल चिन्दैछौँ ।  महाकवि देवकोटालाई विदेशी विज्ञले जोग्र्राफिकल मिस्टेक भनेपछि मात्र हाम्रो बुद्धि फिरेको हो । हामीले हामीलाई बुझ्न पनि अरू कसैले भनिदिनु पर्ने दरिद्रतम हालत छ ।  गुणीजनले मात्र गुणको कदर गर्छ तर हामी आ आफ्ना विभिन्न कृत्रिम र लिलिपुट पहिचानका आधारमा हामी हाम्रै प्रतिभालाई हेला होचो गछौँ र पर्गेल्छौँ । अनि बाचुन्जेल प्रतिभा नजिकको तीर्थ हेला झैँ हुन्छन्  ।  

देवकोटाले अवगुण नहुनु ईश्वरत्व हो भन्नु भएझैँ ओलीमा मात्र होइन जोसुकै व्यक्तिमा कमजोरी हुन्छन् र भेटिन्छन् । तर कमजोरी  दोहोेरिनु भने घातक हुन्छ । जननेता मदन भण्डारीले भने र्झैँ एउटा विशिष्ट व्यक्तिमा १० विशेषता हुनुपर्छ । भण्डारीले किन यसो भन्नुभयो भन्दा पदीय स्तर र तह अनुसारको  बहुविषयक विस्तारित ज्ञान, विवेक, इमानदारिता तथा कार्यकुशलता प्रमुख नेतामा अपरिहार्य हुन्छ र हुनुपर्छ । 

यसरी हेर्दा एमालेमा एक ओली त हुनुहुन्छ अरू ओलीहरू कति छन् ? यसलाई चर्चाको विषय बनाइएको हो । नेता बन्छु भनेर अपहत्ते नेता भइन्न । तर सहज रूपमा बन्न, बनिन र बनाउन चाहँदा बनिन्छ । कुनै  खास पदको आकाङ्क्षा  राखेर बनेको नेता फेरि प्रमुख भइहाले पनि प्रभाव दिन सक्तैन । आवश्यक पर्दा जुनसुकै र जेसुकै जिम्मेवारी बहन गर्न तम्तयार भएर अहोरात्र लागि पर्ने मानिस चाहिँ प्रमुख नेता हुन्छ । स्थायी समितिमा पुगेपछि मदन भण्डारी अध्ययनमा अहोरात्र लाग्नुभएको थियो । अहिलेकै प्राप्त पद थाम्न नसक्नेले अझ ठुलो पद र ओहदा कसरी थाम्न सक्छ र ? उपल्ला तहका कतिपय नेताहरू कार्यकर्ताका मनमा बस्न नसक्नु यो मूल कारण हो । चिन्तन, चेतना, चरित्रका दृष्टिले कार्यकर्ता सरहको नेतालाई भित्री हृदयले नेता भन्दैन । ओलीको उत्तराधिकारी हुनेसित कम्तीमा ओली बराबरको क्षमता त हुनै पर्‍यो नि । ओली रातारात बन्नुभएको त होइन । उदाहरणीय नेताले हर बखत बोल्दा केही न केही नवीन ज्ञान पस्किन्छन् । उनीसितको भेटले नयाँ ऊर्जा उत्पन्न हुनुपर्छ । प्रभावशाली नेता तथा सचिव प्रदीप ज्ञवालीले संस्कृतिका क्षेत्रमा बन्चरो होइन सियो प्रयोग गर्नुपर्छ भन्नुभयो । यस्ता कुरा नयाँ कुराको खोजको परिणाम हो । मार्क्स, लेनिन र माओका हर भनाइ र लेखाइमा महत्त्वपूर्ण सन्देश र सार पाइन्छ । तर अहिले कतिपय नेताका मन्तव्य गनगन र गथासामै सकिन्छन् । मदनले यस पार्टीलाई प्रतिभाको फूलबारी बनाउन खोज्दै हुनुहुन्थ्यो । तर उहाँपछि नेतृत्व परिवर्तनसँगै पार्टी काँडाघारीमा परिणत हुन थाल्यो । यस अवस्थामा टोप बहादुरहरू जन्मिने र पन्पिने अवस्था बन्यो । यस्तो कु्प्रवृत्ति पनि आजको भोलि जन्मिँदैन । यसले पनि मसिना सङ्केतहरू दिन्छ । अहिले पनि टोपबहादुरहरू ओथारा बसिरहेकै छन् फुल पारिरहेकै छन् र चल्ला कोरलिरहेकै छन् । किनकि पार्टी अध्यक्षले बोक्सीलाई कडा प्रतिबन्धित नगरेसम्म उसले बोक्सी चेलाचेली मात्रै बनाउँछे र बढाउँछे । मोरङ जिल्ला बाहेक सुनसरीलगायत केही   जिल्लाहरू नै यसका ज्वलन्त उदाहरण हुन् । 

एमालेमा एक ओली त हुनुहुन्छ अरू ओलीहरू कति छन् ? यसलाई चर्चाको विषय बनाइएको हो । नेता बन्छु भनेर अपहत्ते नेता भइन्न । तर सहज रूपमा बन्न, बनिन र बनाउन चाहँदा बनिन्छ । कुनै  खास पदको आकाङ्क्षा  राखेर बनेको नेता फेरि प्रमुख भइहाले पनि प्रभाव दिन सक्तैन । आवश्यक पर्दा जुनसुकै र जेसुकै जिम्मेवारी बहन गर्न तम्तयार भएर अहोरात्र लागि पर्ने मानिस चाहिँ प्रमुख नेता हुन्छ ।

पार्टीमा कम्ती नै भए पनि उज्वल सम्भावना भएका नेता र कार्यकर्ताहरू छन् तर तिनलाई हरेक गौँडा गल्छेँडामा, मोर्चा, मञ्च तथा परिषद्मा बारबार छेक्ने गरिन्छ । प्रतिभाले मात्र प्रतिभाको नर्सरी,ब्याड र रोपाइ गर्छ,भाइरसले भाइरसलाई नै संरक्षण गर्छ । 

समीको वृक्ष ढल्यो भने पोथ्राले यति विशाल पार्टी थाम्नै सक्तैन । ओली हुन ओलीको दिनचर्या पछ्याउनुपर्छ, रातको १२ः००बजेसम्म अध्ययन गर्ने बानी बसाल्नुपर्छ । उहाँको जस्तै  विविध विषय, विधा, क्षेत्र र दर्शनका बारेको गहन ज्ञान ग्रहण गर्ने रोचक घोचक पारामा अभिव्यक्त गर्ने सामर्थ्य पनि हुनुपर्छ । ओलीको जस्तै कुनै विषय र घटनालाई  सूक्ष्म रूपमा हेर्ने पर्गेल्ने र त्यसलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने क्षमता आर्जन गर्न खोज्नुपर्छ, कट्टर विरोधीलाई पनि सुनूँ सुनूँ लाग्ने कलात्मक कटाक्षयुक्त ओलीको अभिभाषण कला जान्नुपर्छ । 

घिसेपिटे नेताले जबजको मर्म पनि बुझ्दैन र त्यस स्तरको नेता प्रमुख नेता हुन सक्तैन । भाषा, कला, साहित्य र संस्कृतिको गहन ज्ञान बिनाको नेतृत्व बहुआयामिक हुनै सक्रैन, सामान्य मनोवैज्ञानिक चेत बिनाको नेता सतही मात्र हुन्छ । 

ओली सितको साक्षात्कारमा नेपाली र विदेशी पत्रकार नै ताजुब मान्छन् । बरु नेपालका केही ठुला मिडियाका कतिपय ठुला पत्रकार र कालाकोटे वकिलहरू सदादिन ओलीको दुष्प्रचारमा नै रमाउँछन् । किनकि त्यही कामका लागि जागर जो खाएका छन् ।   कला, साहित्य र सिर्जनात्मक सघन चेत प्रमुख नेतामा हुनै पर्छ । मदन भण्डारी सबै कार्यकर्ता र नेतालाई भूमिगत कालमै सृजनशील हुन उत्प्रेरित गर्नु हुन्थ्यो । 

गहन अध्ययन र अनुसन्धानबाट मात्रै साङ्गठनिक कौशल प्राप्त गर्न सकिन्न । यसको राम्ररी मनन र महत्त्व बुझ्न मूलतः व्यवहारबाट सिकिन्छ  । किनकि कामले काम सिकिन्छ । पात्र, प्रवृत्ति र विशेषता अनुसार कार्यक्षेत्रमा परिचालित गर्ने क्षमता सङ्गठन कर्ताको विशेषता हो । विचार, सिद्धान्त र लक्ष्यलाई निर्देश गर्ने महत्त्वपूर्ण कुरा हो । सङ्गठनमा म होइन हामी प्रवृत्ति अपरिहार्य हुन्छ ।  नेता र कार्यकर्ताको  साङ्गठनिक काम जिम्मेवारी, कार्यकुशलता, अनुशासन र इमानदारिता हो । सङ्गठनमा कुशल नेताले आफूले मन पराएका, नातापाता, नाक, नश्ल जात जाति लगायत कुरामा अल्झिँदैन । साङ्गठनिक गहन व्यवहारिक ज्ञानका अभावमा कुनै पनि नेता मनोगत रूपमा चल्न थाल्छ तब सङ्गठनमा सामूहिकता हुन्छ । सङ्गठित सदस्य सबैले कुनै पनि काममा अपनत्व बोधको दायरा बढाउँदै काम गर्नुपर्छ । एक्लो वीर बन्ने प्रयत्न सर्वथा गलत हुन्छ । नेताले जता पनि, जहिले पनि र जु्न ठाउँमा जसकसलाई  जिम्मेवारी दिँदा कार्यकर्ताको निकट विगतलाई फर्किएर हेर्नुपर्छ । नेताका अघि पछि  र उनका घर  वरिपरि चारचौरास लगाएकै भरमा उसैले थामी नसक्ने अवसर बारबार दिने र पाउने हो भने सङ्गठन भताभुङ्ग हुन्छ । पार्टीमा यो भयावह स्थिति नआउन दिन पर्याप्त होसियारी अपनाउनुपर्छ । मन मस्तिष्क विकार युक्त भएपछि काम गतिलो हुँदैन  ।  

सिद्धान्त पछि पार्टीमा सङ्गठनको अहम् भूमिका हुन्छ । सिद्धान्तनिष्ठ सङ्गठन सती सालझैँ सय वर्ष लडा,खडा र पडा हुन्छ ।  जब  सङ्गठनात्मक अनुशासन कायम गर्ने कुरा शिथिल हुन्छ, तब पार्टीको शक्ति क्षीण हुन थाल्छ । यस्ता उपक्रमले पार्टी अवसरवादीको हुल मात्र बन्नेछ । यो अति गम्भीर कुरा हो ।  धनमा मात्र हत्ते हाल्नेले ज्ञान ग्रहण गर्न सक्तैन । चिनियाँ राष्ट्रपति सी जिन पिङले दसौँ हजार आर्थिक बेइमान उच्च पदस्थ नेतालाई दण्डित गरिदिनुभयो । धन सम्पत्तिमा मरिहत्ते गर्नेहरूबाट नेतृत्व नै हुन्न । अब पार्टी नेतृत्वले महाधिवेशनका बेला माथिल्ला तहका नेताहरूको आफ्नो सम्पत्ति विवरण पहिले नै लिनुपर्छ ।  चिची र पापाको लोभ गर्ने  नेता र कार्यकर्ताले पार्टीको कुनै तहको नेतृत्व गर्न सक्तैन ।  एमालेमा ओलीपछि टावर पर्सनालिटी बिना समेट्न सकिने देखेको छैन  । बहरहरूलाई तह लगाउन साँढे नै चाहिन्छ । जुनकिरीका पुच्छरहरूलाई निस्तेज पार्न पार्टीमा सूर्यझैँ तेजिलो नेतृत्व चाहिन्छ ।

कम्तीमा पार्टीको प्रमुख नेतृत्व मदन भण्डारीजस्तै नाक, नश्ल, नाता, थर र गोत्रवाद विरुद्ध उभिनै पर्छ । तीन स अर्थात् सिद्धान्त, सङ्गठन र सिर्जना यी यस्ता बृहत् वा बृहत्तर आयाम नेतामा अपरिहार्य हुन्छ  । यति भए हर समस्याहरू समाधान गर्न सकिन्छ । 

इटहरी निवासी लेखक एमाले कोसी प्रदेश,संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।  

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : ०१ बजे