हेवा खोला बाढी पहिरो : बेपत्ता हुनेको सङ्ख्या २२ पुग्याे, सबै जनाकाे पहिचान खुल्यो

किमाथाङ्का । सङ्खुवासभाको हेवा खोलामा शनिवार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ।  

गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।

शनिवार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । 

बेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगरपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की   (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ  (झापा) , रामजतन थारु  (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन् । 

त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई  बेपत्ता हुनुभएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । 

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बाढीले तीन  पक्की पुलमा क्षति पुर्‍याएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ । 

घटनाको थप विवरण आउन बाँकी छ ।रासस

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ५६ बजे