सुनको मूल्यमा नयाँ कीर्तिमान

‘वान एक्स बेट’बाट ४० लाखसम्म कमाउँथे कलाकार

काठमाडौँ । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । 

 पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताउनुभयो । 

    गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो । उनीहरुले पैसा लिएको स्वीकार गरेको केसीले बताउनुभयो । 

उनीहरुले कमिसनबापतको पैसा वान–एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ । केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा केसीले बताउनुभयो । 

कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो । त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरुले ७४  करोड कारोबार गरेको फेला परेको थियो । एकजना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो । उनीहरुको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ५ : ५९ बजे