तपाई सेकेण्ड ह्याण्ड सवारीसाधन खरिद गर्दै हुनुहुन्छ ? कतै चोरीको त परेन ?

भक्तपुर – ‘तपाई कतै सस्तोमा सेकेण्ड ह्याण्ड सवारीसाधन खरिद गर्दै हुनुहुन्छ ? कतै चोरीको त परेन ? किनकी अचेल बजारमा चोरीका सवारीसाधन, नक्कली लाइसेन्स र नक्कली बिलबुकधारी धमाधम पक्राउ पर्न थालेका छन् ।”
    
    महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले आज यहाँ आयोजना गरेको सचेतना कक्षा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पोषराज पोखरलेले सवारीसाधन खरिद गर्दा सावधानी अपनाउनुपर्ने बताउनुभयो । केही दिन अगाडि झण्डै रु एक करोड पर्ने गाडी रु १५ लाखमा खरिद गरेको पाइएको उल्लेख गर्दै उहाँले बिलबुक नक्कली रहेको पाइएपछि गाडीसहित चालकलाई पक्राउ गरिएको बताउभयो ।     

    चोरीका सवारी साधनदेखि नक्कली बिलबुक तथा नक्कली लाइसेन्सको बिक्री एवं प्रयोग बढेको पाइएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको पोखरलेले बताउनुभयो । प्रधानमन्त्री कार्यालयले सवारी साधनसम्बन्धी एप्स तयार पार्न लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री कार्यालयबाटै सवारी एप्स र नागरिक एप्स  कनेक्ट हुने गरी सफ्टवेयर बन्दैछ, केही महिनामै त्यो तयार भएपछि सवारी साधनका कागज बोकेर हिँड्नुपर्दैन, गल्ती गर्नेलाई कारबाही एवं जरिवानका लागि मोबाइलमै म्यासेज आउँछ ।”
    
    सवारी साधनको गति प्रतिघण्टा ५० किलोमिटरसम्म निर्धारण गरेपनि ५५ भन्दा बढी रहेको पाइए कारबाही गरिने उहाँले बताउनुभयो । “केही महिनामै उपत्यकामा सवारी नियम उलङ्घन गर्नेको गति सिसी क्यामराबाटै निगरानी गरी कारबाही एवं जरिवनाका लागि मोबाइलमा म्यासेज आउने गरी सिस्टम बनाउन लागेका छौँ”, पोखरलेले भन्नुभयो । 
    
    कारबाही गर्दा पनि एकै व्यक्तिले पटक पटक सवारी नियम उलङ्घनमा कारबाही गर्नेको सङ्ख्या धेरै रहेको भन्दै उहाँले भन्नुभयो, “एउटै व्यक्ति दुई सय ३४ पटकसम्म कारबाहीमा परेको छ, २०० पटक कारबाहीपर्नेत धेरै छन्, १०० पटक भनदा बढी कारबाहीमा पर्ने हजारौँ छन्, कारबाही गर्ने नपर्ने गरी सवारी साधन चलाए दुर्घटना पनि कम हुन्छ, समस्या पनि आउदैन ।”
    
    सडक नबढ्ने तर सवारीसाधन वार्षिक १० प्रतिशतले वृद्धि भइरहेको भन्दै उहाँले ३० टन क्षमताको सडकमा ओभरलोड बोकेर सवारी गुड्ने, तीव्र गतिमा गुड्ने, सर्भिस लेनमा वर्कसपदेखि सवारी पार्किङ, पेट्रोल पम्पको लाइन राख्ने अनि पैदलयात्री कहाँबाट हिँड्ने भन्दै सर्भिस लेनको प्रयोग गर्न स्थानीय सरकार लाग्नुपर्ने आँैल्याउनुभयो । भक्तपुरका बासिन्दाले ट्राफिक नियमको उलङ्घनमा पर्ने जरिवना तिर्न र सचेतना कक्षा लिन बग्गिखाना जान नपर्ने भन्दै पोखरलेले आजदेखि भक्तपुरमै कक्षा लिन सकिने बताउनुभयो । 

    कार्यक्रममा ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक राजु कार्कीले ट्राफिक नियम उलङ्घनमा हुने कारबाहीमा तोकिएको जरिवाना तिरेर सचेतना कक्षा लिन अब भक्तपुरमै आजैबाट सुरु भएको बताउनुभयो । 
    
    कार्यक्रममा उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिव मानन्धर, यातायात व्यवसायी महासङ्घका नवीन प्रजापतिले सवारी दुर्घटना न्यूनीकरण र जाम घटाउन सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै कोटेश्वरदेखि सूर्यविनायकसम्म ट्राफिक प्रहरीका पाँच पोष्ट स्थापना गरी सवारी निगरानी बढाएमा ५० प्रतिशतसम्म दुर्घटना न्यूनीकरण हुने बताउनुभयो ।

रासस 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : १९ बजे