आज वर्षाको सम्भावना

पाकिस्तानी राजदूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

​​​​​​​ललितपुर – नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा १८औँ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

    ललितपुर गोदाबरी–३ किटिनीमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमेर अली, नेपाल– पाकिस्तान मैत्री तथा संस्कृतिक सङ्घका अध्यक्ष मञ्जुरत्न शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, गोदावरी–३ का वडा अध्यक्ष राज घिमिरेले संयुक्तरुपमा गर्नुभयो ।

    कार्यवाहक राजदूत अलीले निःशुल्क स्वास्थ्य शिविर आयोजना हुनुले दुई देशका जनताबीचको नजिकको सम्बन्ध प्रतिविम्बित भएको बताउनुभयो । उहाँले शिविर सञ्चालनका लागि नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा यसप्रकारका सहयोगलाई निरन्तरता दिने समेत बताउनुभयो । 

    शिविरमा पाकिस्तानमा अध्ययन गरेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले निःशुल्क सेवा उपलब्ध गराउनुभएको थियो । सो अवसरमा चार सयभन्दा बढी महिला तथा बालबालिकालाई तीन महिनाका लागि निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।
 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ०२ बजे