साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नयाँ बसपार्कभित्र ५६ काउण्टर थपियो

काठमाडौँ । काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रो बस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६  टिकट काउण्टर थपिएको हो ।

यसअघि काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रो बस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।

काठमाडौँ महानगरपालिकाले शुक्रवार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो । 

काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिनुभयो  ।

महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रो बस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ ।

नयाँ बसपार्कभित्रबाट माइक्रो बस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जीप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउण्टर निर्माण गरिएको बताउनुभयो । “नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ”, उहाँले भन्नुभयो ।

यसअघि नयाँ बसपार्कबाट ठुला सार्वजनिक सवारी साधन मात्र सञ्चालन हुँदै आएका थिए । यसअघि काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रो बस र बल्खुबाट हेटौँडा चल्ने टाटा सुमो सञ्चालन हुँदै आएका थिए ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठुला सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने क्षमता रहेको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ०६ बजे