मार्फामा बढ्दै पर्यटक

बोराभित्र महिलाको शव, हत्यामा संलग्न श्रीमान् पक्राउ

दमौली । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । 

प्रहरीले विष्टलाई मङ्गलवार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । 

मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट आज पाँच दिनको म्याद थप गरिएको छ । 

विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहान डाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रङ्गिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाब हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । 

उपरीक्षक विष्टले भन्नुभयो, “जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहान डाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।” 

निजहरूबीच सामाजिक सञ्जालमार्फत गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्नेछ ।”

मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिनुभएको थियो । उक्त निवेदनमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गर्नुभएको थियो । 

निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टको भनाइ थियो ।  

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ८ : ४४ बजे