गठन आदेशलाई ऐन मानेर  संरचना खडा, थपियो राज्यलाई आर्थिक भार 

काठमाडौ ।  प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विकास समिति ऐन अन्तर्गत जारी भएका गठन आदेशहरुको प्रत्यायोजित विधायनका सम्बन्धमा मुख्यसचिव शंकरदास बैरागीसँग छलफल गरेको छ ।  

समितिको आज बसेको बैठकले मुख्य सचिव बैरागीसँग मौजुदा गठन आदेशको संख्या, प्रत्यायोजित विधायन र विकास समिति ऐनलाई टेकेर गठन आदेशका आधारमा सयौं संरचना खडा गरिएकोप्रति जानकारी मागेको थियो । 

समितिले प्रत्यायोजित विधायनका दृष्टिकोणले सरकारले विधायिकीको अधिकार प्रयोग गरेको र गठन आदेशलाई नै ऐनको रुप दिएर विभिन्न संरचना खडा गर्दा राज्यलाई आर्थिकर भार थपिएको प्रति ध्यानाकर्षण गराएको थियो ।  

मुख्यसचिव शंकरदास बैरागीले प्रत्यायोजित विधायन पुन प्रत्यायोजन नहुने मान्य सिद्धान्त र विधायिकीको अधिकारका विषयमा सरकार सदैव सचेत रहेको बताउनुभयो । 
मुख्य सचिव बैरागीले विकास समिति ऐन २०१३ लाई समयसापेक्ष बनाउन नसकिएको  स्वीकार गर्दै प्रत्यायोजित विधानका विषयमा सरकार सजग रहेको बताउनुभयो । 
अहिलेको बजेटले गठन आदेशबाट गठित केही संस्था खारेजीमा लैजाने नीति लिएको भन्दै मुख्य सचिव बैरागीले सुधार गर्ने प्रयासमा रहेको र संसदीय निर्देशन पालना गर्नु सरकारको दायित्व भएको बताउनुभयो । 

प्रधानमन्त्री कार्यालयका कानुन सचिव उदयराज सापकोटाले तत्कालको अवस्थामा व्यवस्थापन गर्न गठन आदेश ल्इाउने गरिएपनि यसमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । 
सचिव सापकोटाले हरेक मन्त्रालयले गठन आदेशका आधारमा बनेका विकास समितिहरुको संख्या नै एकिन र्ग नसकिएको जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरुले ६७ बर्ष पुरानो विकास समिति एनेलाई समय सापेक्ष बनाउन नसकिएको र त्यसका आधारमा सयौंको संख्यामा गठनआदेश जारी गरेर विकास समितिमार्फत संरचनाहरु खडा गर्नु गलत भएको बताउनुभयो । 

सांसदहरुले गठन आदेशका आधारमा सयौं विकास समिति गठन भएको, सरकारले ऐन सरह गठन आदेश जारी गरेर अनावश्यक संरचना खडा गरेको भन्दै विकास समिति ऐन समय सापेक्ष बनाइनुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ४ : २२ बजे