दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन 

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । 

बुधवार आयोजित विशेष समारोहका बिच मेयर कोइरालाले भवनको उद्घाटन गर्नुभएको हो । 

२०७७ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आएको थियो । 

महानगरको आफ्नै जग्गामा एक तले भवन निर्माण गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकसहित गर्भवती, असक्त नागरिकहरूलाई सहज रूपमा सेवा प्रवाह हुने बताउनुभयो । 

मेयर कोइरालाले महानगरको आफ्नै सिटी अस्पताल सञ्चालनको योजनासमेत रहेको सुनाउनुभयो । वडा तहमा भएका स्वास्थ्य सेवा केन्द्रहरूबाट रेफर गरिएका बिरामीलाई महानगर स्तरीय सिटी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन सकिए विराटनगरवासीलाई धेरै राहत हुन उहाँले बताउनुभयो । 

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले हरेक वडामा ल्याबसहितको स्वास्थ्य सेवा दिने गरी महानगरले कार्य गरिरहेको बताउनुभयो । 

उहाँले आगामी आर्थिक वर्षको  बजेटमा ८० वर्षभन्दा माथि उमेर भएका जेठ नागरिकहरूलाई सम्पूर्ण सेवा निःशुल्क प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, भवन निर्माण समितिकी संयोजक तुलसा भट्टराईलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । केन्द्रबाट गर्भवतीको नियमित जाँच, प्रेसर, सुगरको चेकजाँचसहित आधारभूत स्वास्थ्य सेवाका साथै औषधिसमेत निःशुल्क उपलब्ध हुने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ११ : १७ बजे