राष्ट्रघातीको जगजगी र कमजोर जागरण  

अहिले देशमा जो चोर उसैको ठुलो स्वर भनेझैँ देखिन्छ ।, राष्ट्रघातीहरू सदन, सडक, बार र अखबारमा तीन भित्ता उचालिएर आफ्ना कुकर्मलाई ढाकछोप गर्न लागिपरेका छन् तर त्यसको प्रतिवाद वा खण्डन कमजोर देखिन्छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघातीलाई पानी पानी बनाउनुभएको पाइन्छ तर पूरै शक्तिका साथ खण्डन गरेको र गर्न सकेको पाइन्न ।  

गठबन्धन दल र त्यसले नेतृत्व गरेको सरकारका तमाम गतिविधिबाट विभिन्न रूपमा राष्ट्र घात मौलाइ रहेको छ । यस खालका गतिविधिलाई निर्लज्ज तरिकाले समर्थन गर्नेहरू पनि देखिएकै छन् तर तिनको मुख बन्द गर्ने गरी एक स्वरले हामी बोल्न सकिरहेका छैनौँ कि जस्तो लागेको छ । 

माओले भनेझैँ झारपात उम्रिने बित्तिकै उखेल्ने काममा हामी सबैले सबैतिरबाट ध्यान राम्ररी गएको पाइन्न । नेपालको एक प्रमुख अखबारमा लेख प्रकाशित गरेकी इन्द्र अधिकारीलाई वरिष्ठ लेखक भन्नै पर्‍यो । २०८० जेठ २८ गते कान्तिपुरमा प्रकाशित अधिकारीको लेख पढियो ।  नागरिकता विधेयक प्रमाणीकरणको सवाल नामको अधिकारीको लेख भने वरिष्ठ भन्न लायक पटक्क लागेन । लेख लेखे बापत आर्थिक लाभ त राम्रै हुन्छ भन्छन् । यस्ता लेख लेखेबापत एक पक्षले स्याबासी पनि देलान् तर दुर्भाग्य म लगायत एकाध साथीहरू  लेखिरहन्छन् । तर तिनले धन्यवादसम्म पाउँदैनन् । राम्रा कामलाई प्रोत्साहन गरे पो अरू राम्रो काम गर्न र लेख्न मन लाग्छ । लेख्ने पढ्ने चाहिँ कामै होइन भने जस्तो देखिन्छ । आफ्नो  लेखाइ  कसैको पनि एकोहोरो तारिफ वा  आलोचना मात्रै हुँदैन । 

नानावली नचाहिँदा प्रमाणित हुँदै नहुने लेख र विचारलाई  आलोचना नै गरिन्छ । समयमै सच्चिन र सप्रिन सुझाव पनि दिने गरिन्छ ।  यही सिलसिलामा इन्द्र अधिकारीको नेपाल नेपाली विरोधी भावनाको लेख पढेर चुपचाप बस्न सकिएन । डा.पोखरेललाई पनि लेखबारे सुनाए र केही त लेख्नै पर्‍यो भनेँ तर पहिले जस्तो त्यति सकारात्मक कुरा उहाँले गर्नुभएन वा नीच मारेजस्तो गर्नुभयो र भन्नुभयो । जहाँ योग्यता क्षमता र क्रियाशीलताको कदर हुँदैन । त्यस्तो माहौलमा के लेख्नु किन लेख्नु, जे जति लेखे पनि कुनै गन्ती नै हुँदैन ।

राम्रा कामलाई पटक्क प्रोत्साहन नगरेपछि के लेख्ने के गर्ने ? लेख्ने भए लेख्नु अब लेख्न जानेकै छ भनेर अलि ठस्किनुभयो । अनि मलाई नै सङ्केत गरेर तपाईँले मात्र लेखिदिनुपर्ने चिन्ता गर्नुपर्ने ? प्रदेश, सङ्घ  र पार्टीका उपल्ला तहकाहरुको हात कलम चलेदेखि राष्ट्रघातीहरूको जनताले थाहा पाउने गरी  उछित्तो काट्न सकिन्थ्यो ।  

काममा दत्तचित्त हुनेले काम गर्ने ठाउँ नै पाउँदैन, अवसरको मात्र खोजी गर्नेको काममा ध्यान नै हुँदैन भन्नुभयो । उहाँका कुराले डा. पोखरेलको आज मुड निक्कै बिग्रेको जस्तो मलाई लाग्यो । तर पनि अधिकारीको अतिशय भारत भक्तिको लेखको खण्डन गर्नै पर्ने लागेर लेखियो ।

इन्द्र अधिकारीले विधिसम्मत नभएकाले नागरिकता विधेयक निवर्तमान राष्ट्रपतिले प्रमाणीकरण नगरेकामा कटु आलोचना  गरेकी रहिछन् । संविधानतः विधेयक फिर्ता गरेपछि सामान्य  छलफल नै नगरी सम्मानित संस्थालाई चरम हेपाहा व्यवहार गरेर जस्ताको त्यस्तै गठबन्धन सरकारले फेरि राष्ट्रपतिसमक्ष  विधेयक पेस गर्नु कुन विधि र पद्धति हो ? निक्कै ठुली वकिल भने झैँ गर्ने अधिकारी सफेद झुट किन बोल्छिन् ?   संविधान अनुसार म्याद गुज्रेको नागरिकता ऐन वर्तमान राष्ट्रपतिद्वारा  प्रमाणित गर्न गराउन मिल्छ ? निवर्तमान राष्ट्रपतिले गरेको सही छाप मुनि अहिलेका राष्ट्रपतिले किर्ते सही  गर्न सुहाउँछ र मिल्छ ? अनि भारतका शासकलाई खुसी पार्न हतार हतारमा यस खालको घटिया काम गर्नु राष्ट्रवाद हो र ?  यसलाई खुल्ला रूपमा छाती ठोकेर  समर्थन गर्न तपाईँलाई  सुहाउँछ इन्द्रजी ? नागरिकता ऐन नेपाल र नेपालीको हितमा थियो भने भारतका प्रधानमन्त्रीलाई खुसी पार्न किर्ते प्रमाणित पत्र खल्तीमा बोकेर उहाँलाई देखाउन नेपालका प्रधानमन्त्रीले जानु पर्थ्यो र ? यो महान् चाकरी होइन र ? अनि यस्तै सही सत्य कुरा लुकाएर भारतको भक्ति र भजन गर्नका लागि फजुल कुरा कथुर्न अलिकति पनि लाज लाग्दैन  ? बुहारी र सासूले एक आपसमा  बिनबित्थामा एक अर्काका कुरा काटेर दिन बिताएझैँ  गरेको लेख पनि लेख हो र ? सिदासिदी नेपाल र नेपालीलाई घोर   अपमान  गर्ने कुबुद्धि कहाँबाट आउँछ हौँ ? विदेशीको पैसामा बिकेका नेपाली धेरै छन् भन्ने सुनिन्थ्यो हो कि क्या हो ? नत्र किन सरासर झुट कुराहरू लेखका नाममा किन लेखिन्छ र छापिन्छ हँ ? 

महिला त पहिले आमा हुन् । आमासित सही र गलत छुट्याउने शक्ति र विवेक हुन्छ भनिन्छ । बरु कुपुत्र जन्मिन्छ, आमा कहिल्यै कुमाता हुँदिनन्  । नेपाल आमा त आमाकी पनि आमा पो हुन् त । तर एउटी नेपाली नारी वा आमा भएर सरासर नेपालविरुद्ध लेख्ने बोल्ने कुरा कसलाई सह्य हुन्छ ? पिठो बेचेर कतिपय पार्टी र नेता समाजमा हाइहाइ भएको देखिन्छ तर एमाले महिला वा पुरुषसित चामल बेच्ने पनि सामर्थ्य छैन त ? नत्र किन चुपचाप ?  यही विषयमा डा. पोखरेलसित सोध्दा उहाँले  प्रचार प्रसार हात्तीको मुखमा जिराभन्दा पनि कमजोर हुँदा यस्तो भएको थियो  अब के हुन्छ हेरौँ भन्नुभयो । प्रचार प्रसारलाई एकाङ्गी रूपमा बोध गर्ने समस्या उपल्ला तहका नेतामा नै रहेको छ आफू बाहेक जान्ने कोही छैन भन्ने घमन्डले चुर नेतृत्व रहेको देखिन्छ । अहिले  पार्टीका नेताहरूलाई विभिन्न फरक प्रदेश जिल्ला र नगरमा खटाइएको देखिन्छ । यो ठिकै कुरा हो तर जबसम्म नेताहरूको बेहोरा सच्चिँदैन तब सम्म जहाँ सरुवा गरे पनि टोपबहादुरले ओथरा बस्न छाड्दैन, फुल पारिरहन्छ र चल्ला काढिरहन्छ । अनि डा. पोखरेलले ठिकै छ तपाईँहरू गर्नुहोस् । त्यसै बस्नुभन्दा केही गर्नु राम्रो भन्नुभयो । र लेख लेख्ने सुर कसेँ ।   

नभन्दै मैले जाने बुझेसम्म भारत भन्नाले भारतीय जनता र अर्को त्यहाँको शासक वर्ग हो । भारतीय र नेपाली जनताका आपसका मित्र नै हुन् । दुवै देशका जनता कसैलाई हेप्नुपर्छ, पेल्नुपर्छ, शोषण र दमन गर्नु पर्छ भन्दैनन् । तर भारतीय शासक भने नेपाल नेपालीको हितविरुद्ध भित्रभित्रै उहिलेदेखि लागिपरेको स्पष्ट हुन्छ ।  

इन्द्र अधिकारीले लेखमा सबै भारतीय नेपाली नागरिकता लिन लालायित छैनन्, नेपाल भन्ने देश छिमेकमा छ र बिना पासपोर्ट नेपाल जान पाइन्छ भन्ने नै तिनलाई थाहा छैन भनेकी छिन् । तर मैले बुझेसम्म भारतका हरेक रेल जक्सनमा मात्रै करोडौँ भारतीय अलपत्र जीवन गुजारिरहेको देखिन्छ । तिनीहरू गाँस, बास र कपास विहीन छन् । यो कुरो थाहा नभएर र कि झुट लेख्न र बोल्न मन लागेर लेखकले लेखेकी हुन् उनै जानुन् । 

बिदेसिएका नेपालीलाई नेपाली हुनुमा गर्व भए जस्तै भारतीयलाई पनि गर्व छ भन्ने इन्द्र अधिकारीलाई अमेरिकामा स्थायी बसोबास गर्ने भारतीय मूलका जनता भारतप्रति सन्तुष्ट छैनन् यो कुरा हामीले त्यहीँ गएर थाहा पाएका हौँ । ढाँट कुरा गरेर कति दिन टिकिन्छ हौँ ? उनै वरिष्ठ लेखक इन्द्र लेखमा   भारतीयहरू नेपाली नागरिकता लिन मरिहत्ते गर्छन् भन्ने कोणबाट हेर्नु नै गलत छ भन्ज्छिन् । इन्द्रले भारतीय शासकको   क्या तारिफ र क्या भक्ति र भजन गर्छिन् । भारतीयलाई  नेपाली नागरिकता दिँदा राष्ट्रियता नै खतरामा पर्छ भनेर टोल टोलमा व्यापक चर्चा गरिन्छ भने नेपालको र नेपालीको उल्टो बदख्वाइँ पो गर्छिन् त लेखक । उनी लेखमा यहाँ हरेक कुरालाई राष्ट्रवादसित जोड्ने गरिन्छ भनेर उडाउँछिन् । 

भारतीयले म नेपालको नागरिक भएर यहाँको कानुन मानेर नेपालकै सेवा गर्छु भन्दा राष्ट्रियता खतरामा देख्छौँ पो भन्छिन् तर फिँजी भन्ने देशमा पनि त्यस देशको भलो गर्छु भनेर फिँजी गएका र प्रधानमन्त्री बनेका भारतीय मूलका महेन्द्र चौधरीले त्यहाँ के के गरे थाहा होला ? वरिष्ठ लेखकलाई थाहै होला । इन्द्रले लेखमा उल्लेख गरेको पहिलो पटक आमाका नामबाट पनि नागरिकता लिने प्रावधान निवर्तमान राष्ट्रपति नेतृत्वको अखिल नेपाल महिला सङ्घको पहल प्रयत्न र अथक सङ्घर्षको परिणाम हो ।  अपजस जति अरूलाई भए भरमा जस आफैँ लिने दुस्साहस नगरेकै राम्रो । तपाईँहरू त महिलाको अंशमा परेको उपराष्ट्रपति पुरुषलाई नै दिन तीन बित्ता उचालिनु हुँदो रहेछ । भो धेरै कुरा नगरौँ । उडन्ते कुरा लेखेर समय खेर नफालौँ । 

उनै वरिष्ठ लेखक फेरि के भन्छिन् भने २०३८ सालदेखि चलिआएको कानुन अनुसार राष्ट्रपतिले प्रमाणीकरण नगर्दै पनि विवाह गरेर आएका विदेशी महिलाले विदेशी नागरिकता निस्सा बुझाएर नेपाली नागरिकता लिइरहेका थिए, छन् भन्छिन् । अनि के एक पटक गल्ती भयो भने सच्याउन पाइन्न ? भारतमा बिहे गरेर गएकी नेपाली चेलीले त्यहाँको नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने अनि यहाँ चाहिँ आजको भोलि दिनुपर्ने र यसमा उल्टो बहस गर्न सुहाउँछ ? महाकालीमा भारतीयका कारण मारिएका जयसिंह धामीका बारेमा एक अक्षर नलेख्ने र मानवीय नाताले समवेदनासम्म प्रकट नगर्ने इन्द्र अधिकारी साँच्चै नेपाली त हुन् ? भारत रिसाउँछ कि भनेर आफ्ना सहोदर दाजु, भाइ र माइती अनाहकमा मारिँदा चुइँक्क नबोल्ने पनि नेपाली हुन्छन् र मलाई चाहिँ अब धेरै शङ्का भयो ?

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ८ : १० बजे