यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रधानमन्त्री प्रचण्डको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दाको पेशी सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले प्रधानमन्त्री दाहाल र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि विष्टको रिटलाई सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरेको थियो । तर, विष्टले दरपीठविरुद्ध फेरि सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएसँगै सोही अनुसार दर्ता भएको रिटको आज पेशी तोकिएको छ ।

विष्टले रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरेका छन् । मुद्दाको फैसला नभएसम्मका लागि प्रधानमन्त्री प्रचण्डको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने माग राखेका थिए ।

आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ११ : ५८ बजे