यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

राष्ट्रपति पौडेल समक्ष पाकिस्तानी राजदूत हाश्मीद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पाकिस्तानी राजदूत अबरार एच हाश्मीले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

सोमबार राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानको असाधारण राजदूत र पूर्णाधिकारीका रूपमा राष्ट्रपति पौडेल समक्ष आफ्नो ओहोदाको पत्र प्रस्तुत गर्नुभएको हो ।

राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुतिको क्रममा राजदूत हाश्मीले इस्लामिक गणतन्त्र पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वी, प्रधानमन्त्री श्री मुहम्मद शहबाज शरीफका साथै पाकिस्तानी जनता र  व्यक्तिगत रूपमा शुभकामना व्यक्त गर्नुभयो । भेटका क्रममा राजदूत हाश्मीले नेपालका राष्ट्रपतिको स्वास्थ्यलाभ र नेपाल मित्रजनको उत्तरोत्तर प्रगति र समृद्धिको कामना समेत व्यक्त गर्नुभयो ।

राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध सद्भाव, आपसी विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो । उहाँले दुवै देशले द्विपक्षीय संयन्त्र र उच्चस्तरीय सम्पर्कलाई पुनरुत्थान गर्नुपर्नेमा जोड दिनुभयो । दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य रहेको बताउँदै नेपालले सार्कलाई उच्च महत्व दिएको र सार्क प्रक्रियालाई पुनः सक्रिय गर्नमा आशावादी रहेको राजदूत हाश्मीले बताउनुभयो । पाकिस्तानका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई यथाशीघ्र पाकिस्तान भ्रमणको निम्तो पठाउनुभएको राजदूत हाश्मीले बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाल र पाकिस्तानका जनताबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपालस्थित राजदूतलाई नेपाल सरकारको पूर्ण सहयोगको आश्वासन दिनुभयो । उहाँले राजदूत हाश्मीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पाकिस्तान भ्रमणको निमन्त्रणाका लागि पाकिस्तान समकक्षीलाई धन्यवाद दिनुहुँदै उपयुक्त समयमा पाकिस्तान भ्रमण गर्ने बताउनुका साथै पाकिस्तानका राष्ट्रपतिलाई समेत नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

समारोहमा परराष्ट्रमन्त्री, प्रधानसेनापति, राष्ट्रपतिका प्रमुख सचिव, परराष्ट्र सचिवलगायत राष्ट्रपतिको कार्यालय र नेपालको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १० : ०६ बजे