यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

यस वर्ष विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने

काठमाडौँ । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विश्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो । 

सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र कोसी प्रदेशमा तीन लाख मानिस प्रभावित हुने अनुमान गरिएको जनाइएको छ ।  

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा दुई लाख, बागमती प्रदेशमा एक लाख, सुदूरपश्चिम प्रदेशमा एक लाख ४७ हजार, गण्डकी प्रदेशमा ६९ हजार र कर्णाली प्रदेशमा ३५ हजार मानिस विपद्बाट प्रभावित हुने आँकलन गरिएको हो । 

गत वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो । 

मनसुन भित्रिन केही दिन मात्रै बाँकी रहेकाले पूर्व तयारी तथा प्रतिकार्यका काम तीव्र रूपमा अघि बढिरहेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको काम चुस्त रूपमा अघि बढाउन यसअघि नै निर्देशन दिइसक्नुभएको छ । 

सोही आधारमा आवश्यक पूर्व तयारी समन्वयात्मक काम तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना निर्माण भएको पनि प्राधिकरणले जनाएको छ । 

आइतबार बसेको १८औँ बैठकले उक्त कार्य योजना स्वीकृत समेत गरेको छ । 

कार्य योजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीको मौज्दातीको विवरण समेटिएको छ । 

त्यसैगरी भण्डारण गरिएका आपत्कालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने स्रोत व्यवस्थापन प्रणाली’ गोदाम र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीबारेमा कार्य विभाजन पनि गरिएको छ ।

पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ’ए क्लास’ एम्बुलेन्स खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एक–एक वटा रहने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख चार सय २२ जना सूचीकृत भइसकेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिसकेको छ । सरदरभन्दा कम पानी पर्ने भएकाले अधिकतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ । 

सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको बताउनुभएको छ । नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ । उहाँले औसतभन्दा म पानी पर्ने भन्ने कुरालाई पानी नै पर्दैन, विपद् नै आउँदैन भन्ने अर्थमा नबुझ्न अनुरोध गर्नुभएको छ । औसतभन्दा कम पर्ने भएकाले विपद्जन्य घटना भने निम्तिन सक्ने हुँदा तयारीका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । शीतलहर खडेरीले पनि प्रभाव पार्ने गरेकोमा यस पटक भने प्रतिमनसुनका समयमा तातो हावाको लहरले जनजीवन प्रभावित बनाएको छ । यो क्रम अहले पनि तराईका जिल्लामा कायमै छ । 

मौसमविद् शान्ति कँडेलले यसपालि इलाम, धरान, नवलपुर, ओखलढुङ्गालगायतका क्षेत्रमा अधिकतम तापक्रमले रेकर्ड कायम गरेको छ । यसपालि केही दिनमा मनसुन भित्रिएर केही पानी पर्ने भए पनि पुन तातो हावाको लहर बढ्ने भएकाले सचेत हुनुपर्ने उहाँले बताउनुभयो । 

गृह मन्त्रालयले तातो हावाको लहरबाट मानिसलाई जोगाउने आवश्यक पर्ने उपायका विषयमा ठोसठोस प्रस्ताव ल्याउन निर्देश गरिसकेको छ ।रासस

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ९ : ०२ बजे