साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार

दमौली । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । 

व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभाबी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो । 

जथाभाबी रूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ ।”

सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभाबी रूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उहाँले बताउनुभयो । जथाभाबी रूपमा अटेर गरी फोहर फालेमा पहिलो पटक रु तीन हजार र दोस्रो पटक रु सात हजारसम्म जरिवाना गरिने उहाँले जानकारी दिनुभयो । 

नगरपालिकाले पृथ्वी राजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यास भूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो । 

नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहर मैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ । 

नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य–मुख्य भागमा जथाभाबी फोहर नफालौँ, फोहर फालेमा हुने कानुनी कारबाहीलगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ ।

व्यास नगर फोहर मैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ ९क० नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहर मैला निष्कासन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिलाई जरिवाना गरिने उहाँले बताउनुभयो । त्यस्ता व्यक्तिलाई पहिलो पटक रु तीन हजार जरिवाना, दोस्रो पटक सोही कसुर गरेमा रु तीन हजारदेखि रु सात हजारसम्म जरिवाना र फोहर मैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट असुलउपर गरिने जनाइएको छ । 

साथै जथाभाबी चोक–चोकमा फुटपाथ व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ । उहाँले भन्नुभयो, “जथाभाबी रूपमा फोहर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था गरेका हौँ । यसले गर्दा फोहर मैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।” व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । 

स्थापनाको ३० वर्ष पुगिसक्दा पनि नगरपालिकाले फोहर मैला केन्द्र बनाउन भने सकेको छैन । व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटे पनि उक्त प्रयास सफल हुन सकिरहेको छैन । 

व्यास नगरपालिकाले हाल वडा नं १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहर मैला विसर्जन गर्दै आएको छ । 

यसअघि व्यास–३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेमा फोहर फाल्दै आएको छ ।रासस

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : १५ बजे