दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतीय मूलका थर्मन शान्मुगर रत्नम सिंगापुरमा राष्ट्रपति चुनाव लड्ने

सिंगापुर । सिंगापुरका भारतीय मूलका वरिष्ठ मन्त्री थार्मन शान्मुगररत्नमले बिहीबार यस वर्ष हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

थर्मनले २२ वर्षपछि सक्रिय राजनीतिबाट शन्यास लिने निर्णय गरेको पनि जनाउनुभएको छ । राष्ट्रपति निर्वाचनको तयारीका लागि सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी)बाट पनि राजीनामा दिन चाहेको समेत उहाँले खुलाउनुभएको छ । 

उहाँले सक्रिय राजनीतिबाट पछि हट्ने र सरकारमा रहेका आफ्ना सबै पद त्यागेर राष्ट्रपतिको चुनाव लड्ने जानकारी प्रधानमन्त्री ली सिएन लुङलाई गराइसक्नुभएको छ । 

सिङ्गापुरमा सेप्टेम्बर १३ सम्ममा राष्ट्रपतिको निर्वाचन हुदैँछ । 

६६ वर्षीय थर्मन पहिलो पटक सन् २००१ मा जुरोङ समूह प्रतिनिधि निर्वाचन क्षेत्र (जुरोङ जीआरसी)बाट संसद् सदस्यमा निर्वाचित हुनुभएको थियो । थर्मनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो निर्णयबारे जानकारी गराउनुभएको हो । 

च्यानल न्युज एशियाका अनुसार थर्मनले सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस)को अध्यक्ष, जीआईसीको उपाध्यक्ष, आर्थिक विकास बोर्डको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्को अध्यक्ष र अन्य जिम्मेवारीहरू त्याग्ने जानकारी गराइसक्नुभएको छ।

उहाँले आफ्नो पत्रमा भन्नुभएको छ, ‘यो कठिन निर्णय भएको छ, मैले मेरो परिवारसँग परामर्श गरेको छु र आगामी वर्षहरूमा कसरी देशको सेवा गर्न सकिन्छ भन्ने गम्भीरतापूर्वक सोचेको छु ।'  

प्रधानमन्त्री लीले आफ्नो निर्णय बुझेको समेत उहाँले बताउनुभयो। आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ ।

लामो समयदेखि उपप्रधानमन्त्री, अर्थमन्त्री र शिक्षा मन्त्रीको रूपमा सेवा गरिसक्नुभएका थर्मन सन् २०१९ को मेदेखि वरिष्ठ मन्त्री हुनुहुन्छ । उहाँ सामाजिक नीति संयोजक मन्त्री हुनुका साथै आर्थिक नीतिका बारेमा प्रधानमन्त्रीलाई सल्लाह दिने समेत गर्नुहुन्छ। 

विश्वव्यापी मञ्चमा, थर्मन ग्लोबल फाइनान्सियल गभर्नेन्समा प्रख्यात व्यक्ति समूहका अध्यक्ष हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय मुद्रा तथा वित्तीय समितिको पहिलो एसियाली अध्यक्ष पनि हुनुहुन्छ ।  

राष्ट्रपति हलिमाह याकुबले मे २९ मा आफूले दोस्रो कार्यकाल राष्ट्रपतिको रूपमा नखोज्ने घोषणा गर्नुभएको थियो । याकुब (६८) देशको आठौँ राष्ट्रपति र पहिलो महिला राष्ट्रपति हुनुहुन्छ। उहाँको ६ वर्षे कार्यकाल यही वर्ष सेप्टेम्बर १३ मा सकिँदै छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ७ : ११ बजे