आज वर्षाको सम्भावना

मृत्यु भइसकेका व्यक्तिका नाममा सवा ५ लाख सामाजिक सुरक्षा भत्ता

तनहुँ । तनहुँ जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरेकाे खुलासा भएकाे छ ।

जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेकाे पाइएकाे हाे । गत आर्थिक वर्ष २०७८र ७९ मा जिल्लाका विभिन्न पालिकाले ५ लाख २५ हजार २३३ रुपैयाँ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

वघाट गाउँपालिकाले २४ हजार ४ सय, घिरिङ गाउँपालिकाले १ लाख ३५ हजार ९८०, भानु नगरपालिकाले ५३ हजार ६१०, आँबुखैरेनी गाउँपालिकाले २४ हजार ४ सय, बन्दीपुर गाउँपालिकाले २४ हजार १३१, भीमाद नगरपालिकाले २९ हजार ३१४ रुपैयाँ मृत्यु भइसकेकालाई बाँडेका छन्।

ऋषिङ गाउँपालिकाले १ लाख १६ हजार ६३० र शुक्लागण्डकी नगरपालिकाले १ लाख १६ हजार ७५८ मृत्यु भएका ब्यक्तिको खातामा भुक्तानी गरेका छन्।  सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भए उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई पनि रकम निकासा गरेकाले त्यस्तो कार्य सुधार गर्न सुझाइएको छ। 

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ११ (२) मा कुनै लाभग्राहीको मृत्यु भए, एकल महिला लाभग्राहीले विवाह गरे वा ऐन, नियमावली तथा कार्यविधिबमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानुनबमोजिमको सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्दछ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ५ : १७ बजे