दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो

ललितपुर । गर्मीयाम सुरु भए लगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । 

लामखुट्टे, भुसुना, किर्ना र टोक्ने  झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्र रूपमा फैलिँदै गएको छ । 

पशु सेवा विकासका सूचना अधिकारी डा चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु सङ्क्रमित भएको सूचना आएको जानकारी दिनुभयो । नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । लम्की स्किन रोग न्यूनीकरणका लागि खोप आइसकेको भन्दै उहाँले सङ्क्रमित नभएका पशुलाई खोप लगाउन किसानलाई आग्रह गर्नुभयो । 

मुख्य गरी सव सहारन अफ्रिका मध्यपूर्व र टर्कीमा देखिने गरेको लम्पी स्किन रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो । सन् २०१९ पछि दक्षिण एसियाको बङ्गलादेश, भारत र चीनलगायतका देशमा देखा परिसकेको छ । 

विसं २०७७ असार १० गते मोरङ जिल्लामा लम्पी स्किन रोगको लक्षण देखा परेको सूचना अधिकारी ढकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाईमा लक्षण देखा परेपश्चात् उक्त गाईबाट नमुना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो ।”

विशेष गरी सङ्क्रमित लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता किराको टोकाइबाट लम्की स्किन रोग गाई भैँसीमा सरे पनि मान्छेलाई भने यो रोग सर्दैन । लम्की रोग गाई भैँसीमा सरेपछि उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने लगायतका लक्षण देखा पर्दछन् । 

पहिले घाँटीमा साह्रो गोलो गिर्खा देखिएता पनि शरीरका अन्य भागमा बिस्तारै गिर्खा देखिँदै जान्छन् । सूचना अधिकारी ढकालले भन्नुभयो, “यो रोग सरेपछि पशुको थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिन्छ । आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउँछ भने केही सङ्क्रमित गाई भैँसीले कुनै पनि लक्षण नदेखाउन सक्छन् ।”

यो रोगको खासै उपचार नभएकाले रोग लाग्नुभन्दा अगाडि गाई भैँसीलाई खोप लगाउने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्न सरसफाइमा ध्यान दिने, गोठ वरिपरि पानी जम्न नदिने सूचना अधिकारी ढकालले सल्लाह दिनुभयो । 

त्यसैगरी लम्पी स्किन रोग देखा परेका गाई भैँसीलाई ज्वरो घटाउनका लागि पारासिटामेल प्रयोग गर्ने, घाउ चिलाउन कम गर्ने औषधि प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम प्रयोग गर्ने, सङ्क्रमित पशुलाई खोप दिनेलगायतको सल्लाह पशु सेवा विभागमा कार्यरत पशु चिकित्सक वर्षा थापामगरले सल्लाह दिनुभयो । 

उहाँले भन्नुभयो, “रोग लागेको थाह पाउने बित्तिकै अलग राख्ने, ज्वरो आएको पशुलाई जोत्ने गाडा तान्ने काममा नलगाउने । गोठमा झिँगा, लामखुट्टे र किर्ना लाग्न नदिन वरिपरि धुवाँ लगाउनुपर्छ ।”

पर्याप्त बजेट र जनशक्तिको अभावका कारण पशुमा सङ्क्रमित लम्पी स्किन रोग न्यूनीकरणका लागि सकस परेको सूचना अधिकारी ढकालले बताउनुभयो । उहाँले  देशभरि महामारीका रूपमा फैलिए लगत्तै सङ्क्रमण रोकथामका लागि पशु सेवा विभागले नै केही निजी मेडिकललाई खोप वितरण गर्न अनुमति दिएकोसमेत जानकारी दिनुभयो । 

स्थानीय एफएम रेडियोमार्फत लम्पी रोग न्यूनीकरण गर्न चेतनामूलक सन्देश प्रसारण गरिएको छ । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ७ : ०१ बजे