एनपीएलको ट्रफी सार्वजनिक

एमाले बागमतीका सबै कमिटी अधिवेशन आयोजकमा रुपान्तरण

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले १३ वटै जिल्लाको जिल्ला अधिवेशन आगामी भदौंभित्र गर्न निर्देशन दिएको छ । 
एमाले बागमती प्रदेश कमिटीका इञ्चार्ज रामबहादुर थापा बादलको उपस्थितिमा बसेको बैठकले वैशाख २० गते १३ वटै जिल्ला कमिटी पुनर्गठन गरि बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले सबै जिल्ला कमिटिलाई जिल्ला अधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै अध्यक्ष र सचिवको जिम्मेवारीसमेत तोकेका छ ।  बैठकले ३२९ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
कमिटीमा यसअघि नेकपाकालीन प्रदेश सदस्य रहेका माधव नेपाल पक्षकाहरूलाई पनि यथावत राखिएको छ  । कमिटिमा १२ जना माओवादी नेताहरू एमालेकै प्रदेश कमिटीमा बस्नुभएको छ ।  

बैठकले सबै जिल्ला अधिवेशन आयोजक कमिटीमा अध्यक्ष र सचिव रहने र असार मसान्तभित्र सदस्यता नवीकरण गरी भदौँभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो ।

बैठकले वैशाख २५ गते प्रदेशभित्रका ११९ वटै स्थानीय तहमा एकै दिन कमिटी पुनर्गठन गरी सम्मेलन आयोजक समितिको बैठक सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा माधव नेपाल पक्षका नेताहरू नभएपनि  यसअघि माधव पक्षमा रहेका भक्तपुर जिल्ला इञ्चार्ज तथा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र सहभागी हुनुहुन्थ्यो ।

प्रदेश कमिटीको सूची केन्द्रीय कमिटी बैठकबाट अनुमोदन भएपछिमात्र सार्वजनिक गरिने एमालेले जनाएको  छ ।
 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : ३८ बजे