वर्तमान समयमा विकास र राजनीतिले ल्याएका समस्याहरूभन्दा पृथ्वीमा प्रमुख दुई वटा समस्याहरू टड्कारो रूपमा देखिएका छन् । जलवायु परिवर्तन र यसको प्रभाव तथा प्रकृति र पर्यावरणीय प्रणालीमा अविरल रूपमा भइरहेको क्षयीकरण । यी दुवै कुराहरूलाई सँगै समाधान गर्न सकिएन र छुट्टाछुट्टै समाधान गर्न खोजियो भने सफलता हासिल गर्न गाह्रो हुनेछ । त्यस कारण हरेक देशले प्राकृतिक वासस्थानको संरक्षण जस्तै स्थानीय वन जङ्गलको पुनः उत्थान, धाप (Peatland) हरूको संरक्षण गर्नाले जीत–जीतको अवस्था (win-win situation) ल्याउन मद्दत पुर्याउँछ । किनभने यसो गर्नाले वन्यजन्तुका लागि वासस्थान, कार्बन सञ्चितीकरण र जलवायु परिवर्तनका प्रभावलाई समेत घटाउन मद्दत पुग्दछ ।
हालको अवस्थामा नेपाललगायत विभिन्न देशहरूको कार्यक्रमलाई हेर्दा जलवायु परिवर्तन र जैविक विविधता संरक्षण अलग अलग विषय भएको र अलग अलग तरीकाबाट कार्यक्रम कार्यान्वयन गरिने गरिएका छन् । झट्ट हेर्दा यी दुबैको कारकतत्व मानवीय क्रियाकलाप नै भए पनि दुवै एक अर्कासँग अन्तर सम्बन्धित छन् । उदाहरणका लागि जलवायु परिवर्तनको कारण तापक्रममा वृद्धि हुँदा वन्यजन्तुको वासस्थानमा नकारात्मक प्रभाव पर्नुका साथै मानवीय उपयोग र उपभोगका लागि प्राप्त प्राकृतिक पारिस्थितिकीय प्रणालीमा ठुलो नकारात्मक प्रभाव परिरहेको छ ।
प्रकृति र प्राकृतिक वासस्थान माथिको अविरल दोहनले मानवले उत्सर्जन गरेको कार्बन क्याप्चर गर्ने क्षमता कमी भई तापक्रम बढ्ने सामुद्रिक सतह बढ्ने, हिमाल पग्लिने, सुक्खाजर्ती, आँधीबेहरी बढ्ने गरेका छन् । त्यस कारण जलवायु परिवर्तनको प्रतिकूल असर तथा प्रभाव रोक्ने र जैविक विविधता संरक्षण सम्बन्धी कार्यहरू एकैसाथ सँगैसँगै लैजानुपर्ने आजको आवश्यकता देखिएको छ ।
यसका लागि प्रकृतिमा आधारित विभिन्न समाधानहरू छन् जसले दिगो व्यवस्थापन र सामाजिक–वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न प्रकृतिको प्रयोगको माध्यमबाट जलवायु परिवर्तनको प्रभाव कम गर्न र प्रकृति र प्राकृतिक पारिस्थितिकीय प्रणालीको रक्षा गर्न मद्दत गर्दछ ।
उदाहरणका लागि वन्यजन्तुका उपयुक्त वासस्थानहरूको संरक्षण र पुनः स्थापनाबाट वन, सिमसार, चरन क्षेत्रहरूको क्षयीकरण हुनबाट रोक्ने प्रक्रिया आदि । हरित पूर्वाधार, प्राकृतिक पूर्वाधार, पारिस्थितिक इन्जिनियरिङ, पारिस्थितिकीय प्रणालीमा आधारित न्यूनीकरण र अनुकूलन, र पारिस्थितिकीय प्रणालीमा आधारित विपद् जोखिम न्यूनीकरण जस्ता अन्य क्षेत्रका विशिष्ट घटकहरूसँग प्रकृतिमा आधारित समाधान जोडिएको छ ।
यसरी यस्ता क्षेत्रहरूको पुनः स्थापना चाहिँ सबैभन्दा सस्तो र छिटै गर्न सकिने प्रकृतिमा आधारित समाधान हुन जान्छ जसले कार्बन उत्सर्जन कम गर्ने, वन्यजन्तु र अन्य प्राणीहरूलाई वासस्थान प्रदान गर्नुका साथै भूक्षय रोक्ने र बाढी पहिरो रोक्ने कार्य गर्दछ । यस कारण अन्नबाली उत्पादन गर्ने भूमि, चरन क्षेत्रहरूको राम्रो व्यवस्थापन, माटो र पानीको संरक्षण र विषादीको प्रयोगमा कमी गरेको खण्डमा प्रति वर्ष ३ देखि ६ अर्ब मे.टन उत्सर्जन कम हुने कुरा जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्था (आईपीसीसी) र जैविक विविधता महासन्धिअन्तर्गतको “जैविक विविधता र पारिस्थितिकीय सेवासम्बन्धी अन्तर सरकारी मञ्च (आईपीबीइएस)” ले देखाएको छ ।
यसैगरी प्रभावकारी रूपले संरक्षण गरिने र गरिएका संरक्षित क्षेत्रहरूको क्षेत्रगत वृद्धि गर्नाले वन फडानीलाई रोक्ने र वन्यजन्तु तथा जलचरहरूको संरक्षण हुने र रासायनिक मल र विषादीको प्रयोगमा पनि धेरै कमी आउने र अत्यधिक रूपमा आर्थिक अनुदान घट्ने हुन्छ ।
यसैगरी, जैविक विविधता संरक्षण गर्दा स्वस्थानीय र परस्थानीय संरक्षणको भूमिका महत्त्वपूर्ण हुन्छ जसले प्रकृतिमा आधारित समाधानका लागि जोड दिन पृष्ठभूमि तयार पार्दछ । बाह्य आयातित र एकल प्रजातिका रुख बिरुवाहरूको वृहत् वृक्षारोपण गर्नाले प्रकृति र मानव दुबैलाई हानी गर्ने सम्भावना हुन्छ । त्यस अर्थमा स्थानीय प्रजातिको प्रवर्द्धन जैविक विविधता संरक्षण र जलवायु उत्थानशीलता विकासका लागि अर्को प्रकृतिमा आधारित समाधान हुन सक्छ ।
प्रकृतिमा आधारित समाधानले जलवायु परिवर्तनको प्रभाव र जैविक विविधता संरक्षणमा दीर्घकालीन सहयोग गर्दछ, तर यसले तत्कालमा विभिन्न स्रोतहरूबाट अत्यधिक रूपमा उत्सर्जन भइरहेको हरित गृह ग्यास घटाउन अरू प्रविधिहरूलाई प्रतिस्थापन गर्न चाहिँ सक्दैन । प्रकृतिमा आधारित समाधानहरू कुनै बेला छिटो सुविधाजनक र सस्तो हुन्छन्, तर हामीले हरित गृह ग्यासको उत्सर्जनलाई तुरुन्तै र जोड बल लगाएर घटाउनु पर्ने अवस्था भएको हुँदा यस्तो कार्यमा प्रकृतिमा आधारित समाधानहरूले केही मात्र सहयोग गर्दछ, पूर्ण रूपमा प्रतिस्थापना गर्न सक्दैन । मानव क्रियाकलापबाट उत्सर्जित वायुमण्डलमा भण्डारण भएको कार्बन कुनै न कुनै नयाँ प्रविधिबाट सोसेर पृथ्वीमा ल्याई भण्डारण गर्नुपर्दछ । साथै विभिन्न प्रजातिका बोटबिरुवाहरूको वृक्षारोपणबाट कार्बन पनि बढी सञ्चित हुने र अर्कोतिर वन्यजन्तु र जैविक विविधता संरक्षणका साथै भू तथा जलाधार संरक्षणमा पनि मद्दत पुग्दछ ।
यिनै सेरोफेरोमा प्रकृतिमा आधारित समाधानहरूलाई प्राकृतिक र परिमार्जित पारिस्थितिक प्रणालीहरूको संरक्षण, दिगो व्यवस्थापन र पुनर्स्थापना गर्ने कार्यको रूपमा लिइएकोले मानव कल्याण र जैविक विविधतासँग सम्बन्धित लाभहरू प्रदान गर्दा प्रभावकारी र अनुकूलनीय रूपमा सामाजिक–वातावरणीय चुनौतीहरूलाई सम्बोधन पनि गरिएको हुन्छ ।
अनि प्रकृतिमा आधारित समाधान जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताका लक्ष्यहरू प्राप्त गर्नका लागि समग्र विश्वव्यापी प्रयासको एक महत्त्वपूर्ण भाग भएको हुँदा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन रणनीतिहरूमा प्राकृतिक स्रोतहरूको महत्त्वलाई स्वीकार गर्दै आर्थिक विविधीकरण र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमार्फत उत्थानशील सामाजिक–आर्थिक र पारिस्थितिकीय प्रणालीहरूको निर्माण गर्ने भावनालाई विशेष महत्त्व दिइएको छ ।
तसर्थ: हामीले प्रकृतिमा आधारित समाधानका लागि आवश्यक पर्ने दिगो लगानी सुरक्षित गर्दै यससँग सम्बन्धित जटिलताहरूलाई सम्बोधन गर्न सक्यौँ भने मात्र हामीले हाम्रो प्राकृतिक वातावरणको संरक्षण र पुनः स्थापना सुनिश्चित गर्दै जलवायु–उत्थानशील भविष्य निर्माण गर्न सक्छौँ ।
प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ८ : ३६ बजे
प्रतिक्रिया