आज वर्षाको सम्भावना

अझै भेटिएन सुनकोशीमा खसेको स्कार्पियो , घटनास्थलभन्दा तल शव फेला, पहिचान खुलेन

काठमाडौं । सुनकोशी नदीमा आज विहान ११ बजेको आसपासमा खसेको सीटीईभीटीका कर्मचारी सवार स्कार्पियो अझै फेला परेको छैन ।

भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।

स्कार्पियोमा सवार ३ जना बेपत्ता रहेका छन् । घटनास्थलभन्दा केही पर सुनकोशी नदीमा एक जनाको शव भेटिए पनि पहिचान नभएको सिन्धुली प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिए । सशस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थल आइपुगेतापनि पानीको तीव्र बहाव भएको क्षेत्र भएकाले उद्धार गर्न कठिनाई भएको उनले बताए ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल रहेका छन् ।

जीप सडक किनारबाट करिब डेढ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो । जीपमा ४ जना सवार रहेकोमा चालक कृष्ण चौधरी भने पौडेर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनायो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ६ : ३३ बजे