सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

तुलसी बीजारोपण गर्दै निर्जला एकादशी व्रत गरिँदै

महोत्तरी । मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा आज धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदै छ । 

ज्येष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानीसमेत नखाई व्रत गर्ने परम्पराअनुसार आज मैथिल (मिथिलाका बासिन्दा) यो पर्व मनाइरहेका छन् ।

पूर्वीय दर्शन परम्पराको मैथिल चलनमा ज्येष्ठ शुक्ल पक्ष लाग्नासाथ दशहारास्नान मेला प्रारम्भ हुन्छ । ज्येष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजा अर्चना प्रयोजनको फुलको दल राख्ने र भोलिपल्ट तुलसीको दल राख्दै निर्जला व्रत (अन् नजल नखाई गरिने व्रत) बस्ने मैथिल चलन छ ।

मिथिलामा सामान्यतया सबै एकादशीलाई धार्मिक विश्वासमा खास दिन मानिने परम्परा भए पनि निर्जला, हरिशयनी र हरिवोधनी चाहिँ विशेष नै मानिन्छन् । हिन्दु मैथिल परम्परामा एकादशी र तुलसीबीच गहिरो सम्बन्ध रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

“मैथिल परम्परामा वर्षभरिका सबै एकादशी र तुलसीको महत्त्व छ, यद्यपि निर्जला, हरिशयनी र हरिवोधनी चाहिँ विशेष मानिन्छन्”, उहाँ भन्नुहुन्छ, “निर्जलामा तुलसी बीजारोपण गर्ने, हरिशयनीमा बिरुवा मठमा रोप्ने र हरिवोधनीमा तुलसीको विवाह गर्ने चलन छ ।” हिन्दु मैथिल परम्परामा लक्ष्मीसहित भगवान् विष्णु समुद्रमा जानुहुने, हरिशयनीका दिन विष्णु शयन गर्ने र हरिवोधनीका दिन जागा हुने विश्वास गरिँदै आएको छ ।

सत्ययुगमा सति नारी वृन्दाका दुष्ट पतिको संहार गर्न विष्णुले छलेर उनको सतीत्व डगाउँदा वृन्दाले भगवान् विष्णुलाई श्राप दिएको बताइन्छ  । त्यसै श्रापअनुसार वनस्पति रूपमा भगवान् विष्णु तुलसी हुँदा उहाँको पूजा आराधनासँग तुलसीको प्रचलन जोडिएको जनविश्वास छ । तुलसी वातावरण र औषधीय गुणयुक्त वनस्पति हो । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ६ : ५१ बजे