आज वर्षाको सम्भावना

रेशमलाई आममाफी प्रहरीका लागि मरेतुल्य : पूर्वप्रहरी

काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई गणतन्त्र दिवसमा आममाफी दिइएपछि प्रहरी तथा पूर्वप्रहरीहरूमा आक्रोश देखिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएपछि पूर्वप्रहरीहरूले खुलेरै सामाजिक सञ्जालमा विरोध जनाउन थालेका हुन् । २०७२ भदौमा कैलालीको टिकापुरमा भएको हत्याकाण्डमा ७ जना प्रहरीहरू आन्दोलनकारीबाट बर्बरतापूर्वक मारिएका थिए ।

तीनवटै तहका अदालतले घटनाको प्रमुख योजनाकार रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएपनी राष्ट्रपतिबाट आममाफी पाएर चौधरी आज फूलमाला लगाएर रिहा भएका छन् ।

हिजो पूर्वप्रहरीहरूको संगठन पूर्वप्रहरी कर्मचारी परिषदले विज्ञप्ति निकालेर रेशमलाई आममाफी नदिन सरकार र राष्ट्रपतिलाई आग्रह गरेका थिए । तर, सरकारले गरेको सिफारिस राष्ट्रपतिले सदर गरेपछि पूर्वप्रहरीहरूले सामाजिक सञ्जालबाट आक्रोश प्रकट गरिरहेका छन् ।

पूर्वएआईजी सहकुल थापाले रेशमलाई आममाफी प्रहरीका लागि मरेतुल्य भएको उल्लेख गरेका छन् । यस्तै पूर्वएआईजी दिवेश लोहनीले सरकार र राष्ट्रपति आँखामा पट्टी बाँधेर आँखा नदेखेको नाटक गर्ने कलाकार भएको भन्दै कटाक्ष गरेका छन् । 

यस्तै पूर्वप्रहरी निरीक्षक दीपेन्द्र अधिकारीले कडा टिप्पणी गर्दै ‘हत्याराले मात्र हत्यारालाई सम्मान गर्नसक्ने’ लेखेका छन् ।

राष्ट्रपतिले चौधरीलाई आममाफी दिने तयारी गरिरहँदा उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरिक्षक केशव बोहराकी श्रीमती शारदाले आइतबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन्  । 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  २ : ३० बजे