पूर्वीय विचारधारा अर्थात् जीवन दर्शनले “हामी अर्थात् सामूहिकता” र पश्चिमी विचारधाराले “म अर्थात् व्यक्तिवाद“ लाई प्रश्रय दिन्छ । कुन जीवन दर्शनको जगमा हामीले हाम्रो व्यक्तिगत र राष्ट्रिय जीवन अघि बढाउने ? सामूहिकता वा व्यक्तिवादलाई कुन विचारधारालाई आधार मानेर शिक्षा, सामाजिक र आर्थिक व्यवस्था लागु गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनै पर्छ । अन्यथा हाम्रो अपेक्षा एउटा परिणाम अर्को आउने क्रम रोकिनेवाला छैन । दिगो सफलता हासिल गर्नका लागि हामीले सामूहिक भावनाका साथ काम गर्नुपर्ने भएको छ । तर हाम्रा राजनीतिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक तथा सामाजिक नेतृत्वले पूर्वीय विचारधारालाई आधार मानेर अघि बढ्न सकिरहेका छैनन् र नेपालमा सांस्कृतिक, धार्मिक र भाषिक अतिक्रमण बढिरहेको छ ।
जुन देशको शिक्षाले घरपरिवार, देश छोड्न र राष्ट्रिय पहिचान त्याग्न सिकाउँछ अनि आर्थिक नीतिले नागरिक निर्यात गरेर वस्तु आयात गर्न प्रोत्साहित गर्छ भने त्यो देशका नागरिकहरूले स्वाभाविक ढङ्गको पारिवारिक, सामाजिक, राजनीतिक र आर्थिक जीवन अनुभव गर्न नै पाउँदैनन् । हामी नेपालीहरूले त्यही महसुस गरिरहेका छौँ । त्यसैले पूर्वीय दर्शनको जगमा हाम्रो शिक्षा, सामाजिक र आर्थिक व्यवस्था अघि बढाउनुपर्छ । अनि पश्चिमा दर्शनलाई आवश्यकताअनुसार अपनाउनुपर्छ तर त्यसको बढ्दो प्रभावलाई नियमन र नियन्त्रण गर्नुपर्ने भएको छ । यसका लागि शिक्षा तथा सामाजिक व्यवस्थालाई पूर्वीय दर्शनका जगमा नै विकास र लागु गर्नु बाहेक अर्को विकल्प छैन ।
फेरि प्रश्न उठ्छ, कुन जीवन दर्शन रोज्ने र कस्तो प्रणालीमा देशको समृद्धि खोज्ने ?आज जेठ १५ अर्थात् गणतन्त्र दिवस, लोकतान्त्रिक गणतन्त्रमा भएका गलत अभ्यास र कमजोरीहरूलाई हामीले सूक्ष्म ढङ्गले विश्लेषण गरेर त्यसमा सुधार र परिमार्जन गर्न तयार हुनुपर्छ । कमजोरीहरूलाई हामीले स्वीकार गर्नुपर्छ तर लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र नै हो भनेर पनि बुझ्नुपर्छ । आज यो लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण कसरी बनाउने ? यो प्रश्नमा केन्द्रित भएर समाधान खोज्नुपर्छ । हामीले बुझ्नुपर्छ, “प्रकृतिमा हावाको बहावमा पातपतिङ्गरहरू मात्र उड्छन् तर चराचुरुङ्गीहरू होइन, त्यस्तै राजनीतिमा भिडको पछि विचारहीन, भ्रमपूर्ण र सस्तो लोकप्रियतावादी मात्रै हिँड्छ र भिडकै भाषा बोल्छ, तर विचारको जगमा राजनीति गर्नेहरू विचारबाट निर्देशित हुन्छन् र परिपूर्ण लोकतान्त्रिक राजनीतिको भाषा बोल्छन् र गणतन्त्रलाई देशमुखी र जनमुखी बनाउन प्रतिबद्ध हुन्छन् ।”
केही मान्छेहरू समाजलाई भ्रमित बनाउन व्यस्त छन् त कैयौँ मान्छेहरू भ्रममा आफ्नो प्रगति खोज्दै छन् । यो क्रम घट्ने भन्दा बढ्दो छ । अहिले त्यही भ्रमको जगमा पूर्व राजा ज्ञानेन्द्र शाह फेरि राजा हुन्छु कि भनेर अन्तिम कसरत गरिरहेका छन्, त्यो पनि भारतको उक्साहट र सहयोगमा । यस्तो अवस्थामा सञ्चार माध्यम र बौद्धिक वर्गहरूको भूमिका सत्य तथ्य जनतालाई भन्ने, जनतालाई भावनात्मक रूपमा कमजोर हुन नदिने र राज्यलाई प्रणालीगत रूपमा बलियो बनाउने हुनुपर्छ । किनभने बारम्बारको राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तन गरेर नेपालमा नियन्त्रित अस्थिरता बढाउन बाह्य शक्तिहरूले लगानी गरिरहेका छन् । त्यसैले लोकतन्त्रलाई परिपूर्ण र गणतन्त्रलाई जनताको तन्त्र बनाउन बौद्धिक वर्गहरूले आ–आफ्ना क्षमताहरूको उपयोग गर्न सक्नुपर्छ भने राजनीतिक नेतृत्वले विगतका कमजोरीहरू स्वीकार गरेर परिपूर्ण लोकतन्त्रको मूल्यमान्यताबमोजिम आफूलाई अघि बढाउन तयार हुनुपर्छ ।
हिजोआज पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्वबाट सुरु गरेको देश दौडाहा सुदूरपश्चिम हुँदै सुर्खेत पुगेको छ । तर उनी पश्चिम पुग्नुभन्दा पहिला राजनीतिक तथा कूटनीतिक माहौल बनाउन र आवश्यक लगानी जुटाउन काँकडभिट्टा हुँदै भारतको संस्थापन पक्षको सहयोग जुटाउन भारत नै पुगेका थिए । यो उमेर र समयमा भारतको आशीर्वादमा राजा हुन्छु भन्ने उनको सपना आजको सामाजिक चेतना र आवश्यकताले पूरा हुन दिनेवाला छैन । देश दौडाहामा देखिएको भिड पूर्व राजा कस्ता भएछन् भनेर हेर्नका लागि जम्मा भएको हो भनेर उनी र उनका समर्थकहरू बुझ्न सकेका छैनन् ।
हामीले बुझ्नुपर्छ, जो अगाडि पर्छ, उसैलाई खुसी बनाउन खोज्ने प्रवृत्ति र चरित्र भएको नेतृत्वले देशको नेतृत्व गर्ने क्षमता राख्दैन । अनि सडक छाप लोकप्रियतावादको जगमा देशले समृद्धिको यात्रा पनि तय गर्न सक्दैन । आज पूर्व राजा ज्ञानेन्द्रले पनि बुझ्नै पर्छ, देशमा सकारात्मक प्रभाव पार्न र जनतालाई मद्दत गर्नका लागि राजाको रूपमा शक्ति वा अख्तियारको पद धारण गर्न आवश्यक छैन । किनभने पूर्व राजा अर्थात् वरिष्ठ अर्थात् विशिष्ट नागरिकको हैसियतमा आफ्नो भूमिका निर्वाह गर्न संविधानले छेकेको छैन । त्यसैले पूर्व राजाले यति बेला भारतको सहयोग र उक्साहटमा परेर राजतन्त्रात्मक व्यवस्था फर्काउन होइन, देशको विशिष्ट नागरिक भएर लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउन विशेष भूमिका निर्वाह गरेर आफ्नो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक जीवन अनुकरणीय बनाउँदै विश्वलाई आफ्नो क्षमता देखाउन र पाठ पढाउन सक्नुपर्छ । भारतको षडयन्त्रहरूमा परेर ज्ञानेन्द्रले आफ्नो विराट सम्भावनालाई कमजोर बनाएर छवि बिगार्नु हुँदैन ।
यतिखेर हाम्रो जोड लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर संवैधानिक व्यवस्थामा भएका त्रुटिहरूलाई सच्याउँदै यसलाई परिपूर्ण लोकतन्त्रमा बदल्ने ढङ्गको राजनीतिलाई अघि बढाउनमा केन्द्रित हुनुपर्छ । वंशतन्त्रले आम नागरिकलाई मात्र होइन स्वयं पूर्व राजा ज्ञानेन्द्रलाई पनि स्वतन्त्र र सार्वभौम बन्न दिदैन् भन्ने कुरा हामीले इतिहासका अभ्यास र तितो अनुभवहरूबाट सिक्न सक्नुपर्छ । अहिले पूर्व राजा ज्ञानेन्द्रलाई उपयोग गरेर नेपालभित्रका एक थरी वर्गले आफ्नो स्वार्थ पूरा गर्न खोज्दै छ नकि ज्ञानेन्द्रलाई राजा बनाएर राजतन्त्र फर्काउने। अनि त्यस्तै भारतले हिन्दु सम्राटको ललिपप देखाएर नेपालमा राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तन गराएर आफूले विभिन्न समयमा अनधिकृत रूपमा कब्जा गरेका लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपालको भूमि पूर्ण रूपमा आफ्नो बनाउन चाहन्छ। किनभने यो संविधानले ती क्षेत्र नेपालको हो भनेर स्विकारेको छ ।
नेपालमा नियन्त्रित अस्थिरता बढाउन र नेपाललाई कमजोर बनाउन भारतले कूटनीतिक तथा राजनीतिक षडयन्त्रहरू गरिरहेको छ । त्यो षडयन्त्रमा कहिले राणाहरू परेर उपयोग हुन पुगे, कहिले राजाहरू सहयोगी बने त कहिले राजनीतिक दल र तिनका नेताहरू गोटी बने । अहिले फेरि पूर्व राजालाई प्रयोग गरेर अर्को षडयन्त्र गर्न खोज्दै छ जसरी हिजो माओवादीलाई जनयुद्धका नाममा सबै खाले सहयोगहरू गरेको थियो । यसका लागि भारतले ज्ञानेन्द्रको मनोबल बढाउन हिन्दु सम्राटको उपमा दिएको छ । भारतको अभीष्ट जसरी पनि यो संविधान असफल बनाएर खारेज गर्ने हो । हिजो २०४६ को जनआन्दोलनपछि बनेको संविधान खारेज गर्न प्रचण्डहरूलाई प्रयोग गरेको भारतले आज पूर्व राजा ज्ञानेन्द्रलाई प्रयोग गरेर २०६२–२०६३ को जनआन्दोलनपछि बनेको संविधान खारेज गर्ने रणनीति अपनाउँदै छ ।
आज हाम्रो जोड लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संवैधानिक व्यवस्थामा भएका त्रुटिहरूलाई सच्याउनका लागि सुझाव दिन विशेष कार्यदल बनाउन दलहरू तयार हुनुपर्छ । सङ्घीयताको ढाँचामा पुनरावलोकन गरेर जनअसन्तुष्टिहरू सम्बोधन गर्दै राज्य सञ्चालनको खर्च घटाउनुपर्छ । सत्ता सञ्चालनमा भएका कमजोरीहरूलाई पुनः दोहोर्याउने प्रतिबद्धता दलहरूले गर्नुपर्छ । जनताका प्रश्नहरूलाई सम्बोधन गर्ने नीति र कार्यक्रम बनाउनुपर्छ । राजनीतिक दलहरूमा लोकतान्त्रिक आचरण र संस्कार विकास गर्दै आलोचनाहरूबाट सिक्दै अनुभवहरूबाट लोकतान्त्रिक अभ्यासलाई परिष्कृत गर्नुपर्छ । यति गरियो भने लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्व मात्र बढ्दैन दलहरूप्रति पनि विश्वास बलियो हुन थाल्नेछ । त्यसैले अनुभव र अभ्यासहरूबाट सिकेर लोकतान्त्रिक गणतन्त्रप्रति सबैको अपनत्व बढाउने गरी वैचारिक जगमा आ–आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्नुपर्छ । जनताले पनि भ्रममा नपरी सुझबुझका साथ वैचारिक राजनीतिको पक्षमा आफ्नो अभिमत दिन सक्नुपर्छ ।
गणतन्त्र दिवसको अवसरमा हामीले बुझ्नुपर्छ, जुन देशको राजनैतिक तथा संवैधानिक व्यवस्था एकातिर शैक्षिक, सामाजिक, आर्थिक, न्यायिक र प्रशासनिक व्यवस्था अर्कातिर छ अनि नागरिकदेखि नेतृत्वको मनस्थिति दलाली गरेर कमाउने छ। देशको अवस्था सुधार्न नागरिक निर्यात गरेर वस्तु आयात गर्ने आर्थिक नीति खारेज नै गर्नुपर्छ । लोकतान्त्रिक गणतन्त्रमार्फत समृद्ध नेपाल, सुखी नेपाली बनाउन सकिन्छ अनि जब हामी राम्रो विचारका साथ अघि बढ्छौँ, सफलता हासिल गर्न सक्षम हुन्छौँ । यसैले लोकतान्त्रिक गणतन्त्र अनुरूपको शैक्षिक, सामाजिक, आर्थिक, न्यायिक र प्रशासनिक व्यवस्था बनाउन सबै सरोकारवालाहरू एकमत र एकजुट हुनुपर्छ । तर परिपूर्ण लोकतन्त्रविना गणतान्त्रिक व्यवस्थालाई जनमुखी र देशमुखी बनाउँदै जनताको बढ्दो अपेक्षाको सम्बोधन गर्न सकिदैन् भन्ने चेत हामीमा अझै आएको छैन। किन ? उत्तर खोज्न ढिला नगरौँ । समस्याहरूको समाधानमा केन्द्रित भएर प्राज्ञिक बहस सुरु गरौँ । कुरो बुझौँ, हामीसँग अर्को विकल्प छैन ।
प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ८ : ४२ बजे
प्रतिक्रिया