आज वर्षाको सम्भावना

बाँकेको नरैनापुरमा ११ घर जले

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो  ।  

    आगलागीका कारण रु १७ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
 
दिउँसो १२ बजे सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो । आगलागी भएको जानकारी पाउने बित्तिकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह दमकल लिएर आगो नियन्त्रण गर्न पुग्नुभएको थियो । अध्यक्ष शाहले समयमै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएकाले मानवीय क्षति नभए पनि क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो । 

    पीडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक वर्ष दर्जनौँ आगलागीको घटना हुने गरेको छ । 
 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १० : १७ बजे