काठमाडौं । काठमाडौं जिल्ला अदालतले कपनमा एक महिनाअघि भएको हत्याकान्डका आरोपी विनोद विश्वकर्मालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
दालतका न्यायाधिश चन्द्रप्रकाश तिवारीले शुक्रबार थुनछेक आदेश गर्दै उनलाई थुनामा पठाएको हो । सरकारी वकिल कार्यालयले विनोदविरुद्ध जिवनभर कैदमा राख्न माग गर्दै बुधबार अभियोग पत्र दर्ता गरेको थियो ।
यो घटनामा विनोदले हत्यापछि लुटेको सिक्री किनेको आरोपमा पक्राउ परेका प्रदिप गदाइलीलाई भने धरौटीमा छाड्ने आदेश भएको छ । वैशाख ७ गते निरा आचार्य आफ्नै भाँडा पसलभित्र सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।
घटनाको ९ दिनपछि प्रहरीले ३६ वर्षीय विनोदलाई झापाबाट पक्राउ गरेको थियो ।
विनोदले आफू आर्थिक संकटमा रहेका कारण बाटोमा हिँड्दैगर्दा पसलभित्र एक्लै देखेकाले लुटपाट गर्ने उदेश्यले निराको हत्या गरेको बयान सरकारी वकिललाई दिएका थिए। निराको शरिरमा २० भन्दा बढी चोट देखिएको थियो ।
यस्तो छ अभियुक्त विश्वकर्माको बयान
म एक सामान्य आर्थिक हैसियत भएको परिवारको सदस्य भएको हुनाले गाउँमै खेतीपाती तथा झापा जिल्लाको धुलाबारीस्थित क्यासिनोहरुमा बाउन्सरको काम गरी जिबिकोपार्जन गर्दै आएको थिएँ।
क्यासिनोमा बाउन्सरको काम गर्दा जुवा खेल्ने लतमा परि अन्य क्यासिनोहरुमा गई जुवा खेल्ने र बेला मौकामा रक्सीसमेत सेवन गर्न थालें। २०७६ र २०७७ सालको कोरोना महामारीको पहिलो लक डाउनको समयमा मैले धुलाबारीस्थित क्वारेन्टाईनमा रेखदेख गर्ने काम पाई त्यहाँ काम गर्ने सिलसिलामा भेट भएकी बिनिता रेग्मीसँग चिनजान भईसँगै खाने, बस्ने, डुल्ने गर्न थालें।
त्यसपछि बिस्तारै पैसाको अभाव हुन गई ऋण लाग्न थाल्यो, घर परिवार तथा श्रीमती समेतले यस्तो कुरा थाहा पाएपछि घर परिवारमा झै झगड हुन थाल्यो। मैले काम खोज्दा कहिंकतै राम्रो काम नपाएपछि कामको खोजीमा काठमाडौं आई सरस्वतीनगरस्थित मेरी सानीआमा हरिमाया श्रेष्ठको घरमा बसी चाबहिलको बेबिलोन क्लबमा मासिक १६ हजार पारिश्रमिकमा बाउन्सरको काम गर्न थालें।
उक्त क्लबमा ३ महिनासम्म काम गरेपछि मेरो काम सन्तोषजनक नभएको भनि मलाई कामबाट हटाएकोले साथि काजी गुरुङको सहयोगमा ठमेलस्थित भाईब्रेट क्लबमा बाउन्सरको काम गर्ने थालें। २ महिना जति त्यहाँ काम गरेपछि मेरो केटी साथी बिनिताले फोन गरी मलाई पनि काम लगाई देउ, म पनि काठमाडौं आउँछु भनेकीले कोठा तथा काम समेत खोज्नका लागि मैले २०७९ सालको फागुन महिनाको १० गते तिर छुट्टि लिई नयाँ बसपार्क नजिकको शिव मन्दिर नजिक कोठा लिएँ।
२६/२७ गते तिर बिनिता काठमाडौं आएपछि हामी दुबै जना सँगै सोही कोठामा बसी भाईब्रेट क्लबमा काम गर्न गयौं। काममा गएको पहिलो दिनमै बिनिताले म काम गर्दिन भनिन्। मलाई पनि त्यहाँ काम गर्न मन लागेन। ८/१० दिन पछि बिनिता झापा फर्कि गइन्। त्यसपछि मैले समेत कहिँ कतै काम नपाएपछि म कोठामा एक्लै बस्दै आइरहेको थिएँ। पछि मलाई कोठामा एक्लै बस्न, खान समेत खर्चको अभाव भयो। त्यसपछि चैत महिनाको अन्तिम तिर मैले मेरो गाउँको चिनजानको भाई भक्तपुर जिल्ला लोकन्थलीस्थित डेरा कोठा गरी बस्ने सुरज साहलाई फोन सम्पर्क गरी मेरो लागि कतै नोकरी खोजी गरिदिनुपर्यो, म पनि तिम्रो कोठामा आउनु पर्यो भनि भोलिपल्ट साँझ जडिबुटी चोकमा गई सुरज साहसँग उक्त चोकमा भेट भई हामी दुबै जना हिड्दै उनको डेरा कोठामा गयौं।
डेरा कोठामा सुरज साहका दुई जना साथीहरु पियुस गुप्ता र शिबशंकर मण्डल नाम गरेका ब्यक्ति समेत सोही कोठामा बस्ने गरेका रहेछन्। दिउँसोको समयमा उनीहरु सबै जना आ–आफ्नो काममा जाने र कोठामा म एक्लै भएको समयमा के कहाँबाट पैसा लिई मेरो ऋण के कसरी तिर्ने भन्ने चिन्ताले मलाई सताउन थाल्यो। कहिँ कतै कोही कसैको धनमाल लुटपाट गरी धन सम्पत्ती आर्जन गर्ने दिमागमा कुबिचार आयो। वैशाख ७ गतेको बिहान उठी सदा झैं सुरज साह आफ्नो काममा गएपछि म कोठामा एक्लै थीएँ। आज कहिं कतैबाट धनमाल चोरी गर्नुपर्छ भनि डेरा कोठामा नै योजना बनाई सोहि कोठामा रहेको मेरो आफ्नै ट्र्याक, जुत्ता, एडिडास लेखिएको हाफ टि–सर्ट र बाहिर पट्टि सुरज साहको चेक सर्ट र मुखमा माक्स लगाई कोठामा रहेको शिबशंकर मण्डलको पिठ्युमा बोक्ने झोला बोकी डेरा कोठाबाट निस्किएँ।
पैदल हिड्दै जडिबुटी चोकसम्म आई उक्त स्थानबाट बिहान अन्दाजी साढे ११ बजे तिर भाडाको बस चढि चाबहिल केएल टावर नजिक पासाङ ल्हामुको सालिक भएको चोकमा बसबाट झरेँ। भित्री गल्लिहरुमा कोही कसैको धनमाल लुटपाट गर्न सकिन्छ कि भनि हेर्दै घुमफिर गर्दै दिउँसो अन्दाजी साढे दुई बजे तिर घटनास्थल रहेको स्थान कपन सरस्वतीनगरमा पुग्दा सो स्थानमा पछि नाम, थर सुनि थाहा भएकी निरा पाण्डे आचार्यलाई भाँडा पसल भित्र एक्लै देखेँ।
पसलमा सामान किन्ने निहुँमा भित्र प्रवेश गरी हेर्दा उनको गलामा सुनको सिक्री समेत देखेको र पसल पनि ठुलै भएकोले कारोबारको रकम पनि ठुलै होला भन्ने सोची यहि लुटपाट गर्नुपर्छ भन्ने निधो गरें। पसले साहुनी निरा पाण्डे आचार्यले के सामान चाहियो दाई भन्दा मैले रेष्टुरेन्ट खोल्न लागेको, सामान चाहियो भनि प्लेट, कप, थर्मस, हटकेस लगायतका सामानहरु निकाली प्याक गर्न लगाएँ, त्यहि बेला दुई जना महिला र एक जना पुरुष मानिस पसलमा आई ग्यास चुलोको विषयमा सोधपुछ गरी फर्केर गए।
म पसलमै रहेको अवस्थामा एक जना बालक र एक जना बालिकाले निज निरा पाण्डे आचार्यको लागि चिया ल्याई आए पछि साहुनी निरा पाण्डे आचार्यले मलाई दाई चिया खाने भन्दा मैले म खान्न भनेँ। पछि उनैले नै चिया खादै गर्दा चिया लिई आएका बच्चाहरु समेत पसलमै बसि मोबाईल चलाईरहे। मैले सो पसलमा एक छिन सर समान हेरी प्लाष्टिकमा प्याक गर्न लगाउँदासम्म पनि बच्चाहरु पसलबाट बाहिर ननिस्के पछि निरा पाण्डे आचार्यलाई तपाई सामान प्याक गरी दिनुस, म एक छिनमा आउँछु भनि उक्त पसलबाट बाहिर निस्की साईडमा गई चुरोट खाई अन्दाजी ५/६ मिनेटपछि पुनः पसलमा जाँदा निज निरा पाण्डेलाई पसलमा एक्लै देखेँ।
उनको गला (घाँटी) मा रहेको सुनको सिक्री र पसलको सेफमा रहेको पैसा समेत डाँका गरी लिने भनि निरा पाण्डे आचार्यलाई पसलको काउण्टर भन्दा पछाडि पट्टि रहेको र्याकको माथिल्लो भागमा रहेका सरसमान देखाउनु भनेँ। त्यसपछि उनी पसलको काउण्टर पछाडी गई र्याकमा राखिएको समान निकाल्न लाग्दा मैले पछाडि पट्टिबाट पिठ्युमा मुक्काले हानी उनको घाँटीमा रहेको सुनको सिक्री तान्न खोज्दा के गरेको भनि आत्तिई हल्ला गर्न थालिन्।
घटना थाहा भई पक्राउ पर्ने डरले मैले निजलाई अंगालो हाले जसरी अठ्याई निजको मुख थुनि काउण्टर पछाडी भुईमा लडाई सोही पसलमा रहेको धारिलो हतियार (चक्कु)ले पेटको भागमा हानें। चक्कुले प्रहार गर्दा उनले मैले प्रहार गरेको चक्कु छेक्ने क्रममा हातले समाती नछोडेपछि मेरो एउटा हातमा चक्कु भएको र अर्को हातले उनलाई अठ्याई मुख थुनेकोले मैले उनको नाडीको भागमा दाँतले टोक्दा उनले हातमा समातेको चक्कु छोडेकी थिईन।
पछि सोही चक्कुले मैले उनको घाँटी, छाती तथा पेट समेतको भागमा पटक पटक प्रहार गरेपछि उनी रक्ताम्य भई अचेत हुँदा मैले उनेको घाँटीमा रहेको सुनको सिक्री निकाली, काउण्टरको घर्रामा रहेको करिव १२/१३ सय नगद रकम समेत लिएँ।
मैले लगाएको सर्ट तथा निरा पाण्डे आचार्यलाई प्रहार गरेको चक्कुमा समेत रगत लागेकोले उक्त सर्ट खोली सो सर्ट तथा चक्कु समेत मैले बोकी ल्याएको झोलाभित्र हाली झोला बोकी भित्र पट्टि लगाएको कालो रंगको हाफ टि–सर्टमा बाहिर निस्की भाग्ने क्रममा केही परसम्म पैदल हिड्दै गई उक्त स्थानबाट नम्बर एकिन थाहा नभएको ट्याम्पुको अगाडी (चालकको बायाँ) पट्टिको सिटमा बसि चाबेलसम्म आएँ।
चाबेलबाट नम्बर थाहा नभएको पठाओ (मोटरसाईकल) मा चढि जडिबुटी चोकसम्म गई उक्त चोकबाट म पुनः अर्को पठाओ मोटरसाईकलमा चढी सुरज साह समेतको डेरा कोठामा गएको थिएँ। साँझ पख खाना खाई म सोही कोठामा सुतें। भोलिपल्ट अर्थात ८ गते मैले सुरज साहको मोबाईल मागि चलाउने क्रममा सामाजिक सञ्जालमाफर्त निज निरा पाण्डे आचार्यलाई दिउँसै पसलभित्र अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी उपचारको क्रममा महाराजगंजस्थित शिक्षण अस्पतालमा मृत्यु भएको भन्ने खबर छ्यापछ्याप्ती पाएको थिएँ।
त्यसपछि उक्त घटना सम्बन्धमा प्रहरीले मलाई पक्राउ गर्न सक्छ भनि मनमा डर पलाई म दिउँसोको समयमा कहिले पनि कोठाबाट बाहिर ननिस्की कोठाभित्र बसिरहने गरेको थिएँ। मैले निरा पाण्डे आचार्यलाई प्रहार गरेको चक्कु तथा घटना हुँदाको बखत मैले लगाएको सर्ट समेत सुरज साह समेतले देखि थाहा पाउछन् भन्ने सोंची उक्त सर्ट २ दिनपछि मैले सोही कोठामा रहेको फोहोर राख्ने बोरामा फालेको थिए।
साँझ अँध्यारो भई सकेपछि चक्कुसमेत कोठाबाट कोही कसैले थाहा नपाउने गरी लुकाई छिपाई साथमा बोकी ल्याई उक्त कोठा भन्दा अन्दाजी ५/७ मिनेटको दुरीमा आई खोलामा फालेको थिएँ। मैले निरा पाण्डे आचार्यको साथबाट डाँका गरी ल्याएको सुनको सिक्री बिक्री गरी आफ्नो खर्च जुटाई झापा जानु पर्यो भन्ने सोची वैशाख १२ गते म लोकन्थलिस्थित डेरा कोठाबाट गोंगबुस्थित बसपार्कसम्म आई मेरो चिनजानको साथी नरबहादुर बिश्वकर्माको तारकेश्वर–१० हिलेटोल स्थित रहेको सुनचाँदी पसलमा गई ५५ हजारमा सिक्री बेचेँ।
उक्त पैसा लिई माछापोखरी पुल नजिकै भित्री गल्लिमा रहेको जनक मोबाईल पसलमा गई १० हजारमा मोबाइल खरिद गरी म सँगै रहेको सिम कार्ड उक्त मोबाईलमा हाली सोही स्थानबाट मैले नम्बर एकिन थाहा नभएको ट्याक्सी बुक गरी टोखा जलबिनायक चोकस्थित आफ्नो डेरा कोठामा गएँ।
कोठाबाट आफ्नो लगाउने लुगा कपडा लिई सोही ट्याक्सिमा बसि म लोकन्थली स्थित सुरज साहको डेरा कोठामा फिर्ता भएको थिएँ। साँझ पख उक्त कोठामा बस्ने शिबशंकर मण्डल डेरा कोठामा नआई साथीको डेरा कोठामा गएको थियो।
उक्त साँझ मैले निज सुरज साहलाई यता बसेर कहि कतै नोकरी पाईएन, त्यतिकै यता बसेर के गर्ने, म भोलि घर जान्छु। आज अन्तिम दिन केही रमाईलो गर्नु पर्यो भनि मैले नै नजिकको पसलबाट डेरा कोठामा रक्सि तथा कुखुराको मासु ल्याई हामी दुबै जनाले रक्सी मासु खाई सुतेका थियौं। भोलि पल्ट बिहान उठि म तयार भई आफ्नो झोला लिई अन्दाजी ६ बजेको समयमा डेरा कोठाबाट निस्की ट्याक्सि बुक गरी बसपार्क सम्म गई बसपार्क बाट हाईसमा बसि ईटहरी गई दुई दिन ईटहरीस्थित नाम थाहा नभएको होटलमा बसेँ।
ईटहरीबाट झापाको बिर्तामोड गई होटलमा बस्दै आई रहेकोमा वैशाख १६ गतेको राति अन्दाजी १० बजेको समयमा म बिर्तामोड–५ ईलाम स्टेन स्थित हिँडडुल गरिरहेको अवस्थामा एक्कासी सादा पोसाकका प्रहरी टोलीले मलाई फेला पारी पक्राउ गरी उक्त राति मलाई झापाकै हिरासत कक्षमा राखि १७ गते काठमाडौं लयाएँ।
मेरोविरुद्ध मृतक निरा पाण्डे आचार्यको श्रीमान योगेन्द्र आचार्यले ज्यान सम्बन्धी (कर्तब्य ज्यान) कसुर शिर्षकमा जाहेरी पेश गरेकोले प्रस्तुत मुद्धाको अनुसन्धानको सिलसिलामा हाल म प्रहरी वृत्त बौद्धको हिरासत कक्षमा रहेको छु, प्रहरीले अनुसन्धानको क्रममा घटनास्थल वरपर तथा चाबेल र जडिबुटीमा रहेका सिसिटिभिबाट संकलन गरी मिसिल संलग्न गरेको फुटेजमा देखिएको कालो रंगको हाफ टि–सर्ट, खैरो रंगको ट्राउजर, कालो रंगको जुत्ता र मुखमा मास्क लगाई पछाडि झोला बोकेको व्यक्ति मै हुँ।
निरा पाण्डेको हत्यामा संलग्न भएको आशंकामा नाइट क्लबका बाउन्सर पक्राउ
प्रहरी अनुसन्धानको प्रारम्भिक संकेत: सिक्री लुट्नका लागि निराको विभत्स हत्या!
कपन घटना : राजधानी भित्रकै रहस्यमय हत्या, सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!
नीरा पाण्डे घटना अनुसन्धान गर्न प्रहरीले बनायो ११ सदस्यीय समिति
प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ६ : ५९ बजे
प्रतिक्रिया