साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने 

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ । 

उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले नक्सा पास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । 

गाउँमा झन्डै ९० प्रतिशत घर नक्सा पास नगरी निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिनुभयो । उपमहानगरले पक्की घरको रु एक हजार, कच्ची घरको रु पाँच सय, अव्यवस्थित बसोबासीका लागि रु एक सय, भूमिहीन दलितका लागि रु ५० र भूमिहीन सुकुमबासीका लागि रु ५० वार्षिक कर निर्धारण गरेको छ । 

“ऐलानी जग्गामा घर बनाएकाले अभिलेखीकरण गर्नुपर्छ”, घर्तीले भन्नुभयो । असार मसान्तसम्म करको दायरामा आउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । घरको नक्सा पास गर्ने प्रक्रियाका लागि विभिन्न कन्सलटेन्सीले सेवा शुल्क फरक–फरक लिने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले छानबिन गर्ने भएको छ । प्रवक्ता माधव वलीको संयोजकत्वमा समिति गठन गरिएको छ । 

यस्तै, बैठकले तुलसीपुरका १३ विद्यालयलाई कक्षा थपको अनुमति दिएको छ । नौ सामुदायिक र चार संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिएको प्रवक्ता वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : १२ बजे