पाल्पामा चैते धान खेती गर्न छाड्दै किसान

रामपुर (पाल्पा) ।  चैते धान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउ बाजेको पालादेखि लगाउँदै आएको चैते धान अहिले भने पाल्पाका किसानले क्रमिक रूपमा लगाउन छाड्दै गएका छन् । 

गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षे धान लगाउने र चैते धान स्याहार्ने समय एकै पटक पर्ने, खानामा त्यति स्वाद नहुने, कतिपय ठाउँमा सिँचाइको समस्यालगायतका विभिन्न कारणले खेती कम गरिन थालेको पाइएको छ । 

वर्षमा २५–३० मुरी चैते धान स्याहार्दै आए पनि १० वर्षयता लगाउन छाडेको रामपुर नगरपालिका–२ सिम्ले बस्ने सीता जिसी बताउनुहुन्छ । चैते धानलाई भन्दा वर्षे धानलाई महत्त्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकै खेती गरिँदै आएको उहाँको भनाइ छ । 

खेती गर्न झन्झट, स्याहार्ने बेला वर्षे धान लगाउने चटारो हुने भएकाले किसानले यसको खेती कम गर्दै गएका हुन् । वर्षे धानले मात्र खान नपुग्ने हुँदा अनिकाल छोप्नका लागि दुःखसुखले अहिलेसम्म चैते धानलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ, रामपुर–४ स्थित तल्लो वडमान कृषक समूहका सदस्य राधा पोखरेल । 

उहाँ भन्नुहुन्छ, “खस्रो, दरो चामल हुने भएकाले खादा त्यति स्वाद मीठो हुँदैन, खेती झन्झट, स्याहार्ने बेला पानी पर्ने समस्याले भोको नरहनका लागि केहीले मात्र चैते धान लगाउने गरिएको छ, वर्षे धानले खान पुग्नेले अहिले लगाउन छाड्दै गएका छन् ।”

रामपुर–४ स्थित तल्लो वडमान क्षेत्रमा करिब तीन सय पाँच रोपनी जग्गामध्ये करिब दुई सय रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको वडमान कृषक समूहका अध्यक्ष ओमबहादुर रानाले बताउनुभयो । “सिँचाइ सुविधा भएपछि धान खेतीलाई निरन्तरता दिइरहेको छ, पहिला तल्लो वडमान क्षेत्रका सबै खेत धानले भरिन्थे भने अहिले खेती गर्ने झन्झटका कारण केही जग्गामा मकै खेती लगाउन थालिएको छ”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र पाल्पाले सिँचाइका लागि पक्की कुलो निर्माणमा सहयोग गरेपछि समूहमा आबद्ध ३० घरपरिवारले धान खेती गरिरहेका छन् । यहाँ एक घरपरिवारले ४० मुरीभन्दा बढी चैते धान स्याहार्ने गर्दछन् । एक रोपनीमा करिब छ मुरीसम्म धान फल्ने गर्दछ । बाउ बाजेको पालादेखि नै चैते धान खेती गर्ने गरिएको छ । 

तीन वर्षअघि तल्लो वडमान क्षेत्रमा चैते धानको पकेट कार्यक्रम सञ्चालनका लागि कृषि ज्ञान केन्द्र पाल्पा र पकेट समितिको रु १४–१४ लाख गरी रु २८ लाखमा दुई सय दुई रोपनी क्षेत्रफलमा पकेट कार्यक्रम चलाइयो । समूहलाई चार वटा मिनीटिलर, दुई वटा पावरटिलर, दुई वटा रोटाभेटर, चार वटा धान काट्ने मेसिन, बेल्चा, गैटी, धान काट्ने दतिया, मल, बीउ बिजनलगायतका सामग्री प्रदान गरिएको छ । यस क्षेत्रमा हाल चलनचल्तीमा आएका चैते–१, चैते–२, हर्दिनाथ, टाइचन, बगरेलगायतका धानका जात हुन् ।

परम्परागत खेती भए पनि खाद्य सुरक्षाका लागि यहाँका किसानले निरन्तरता दिएका छन् । जुन वर्ष दिन भरको गुजारा चलाउनका निम्ति धान लगाउने गरिएको छ । वैकल्पिक व्यवस्था भएका किसानले यसको खेती गर्न छाडिसकेका छन् । 

रामपुरको वडमान, देवीस्थान, खयरबोटलगायतका स्थानमा कृषकले चैते धान खेती गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । उहाँका अनुसार परम्परागत रूपमा धान खेती गरिँदै आएका जग्गामा अहिले मकै लगाइएको छ । खोलाका किनार, सिँचाइ सुविधा भएका खेतमा फाट्टफुट्ट मात्रामा धान लगाउने गरिएको छ । रामपुर नगरपालिका क्षेत्रमा करिब पाँच सय रोपनी क्षेत्रफलमा चैते धान खेती गरिँदै आइएको छ ।

हाल पाल्पा जिल्लाका रामपुर, पूर्व खोला, रम्भालगायतका विभिन्न क्षेत्रमा चैते धान खेती गरिएको छ । सिँचाइको अभाव, धान काट्ने बेलामा वर्षा धेरै हुनाले गुणस्तरमा ह्रास हुने समस्याले पछिल्ला वर्षमा क्रमिक रूपमा किसानले खेती गर्न छाड्दै गइरहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो ।

“पछिल्लो समय गाउँमा बसेर काम गर्ने जनशक्ति नै छैन, युवा जनशक्ति विदेश पलायनका कारण खेती नै गर्न छाडिएको छ”, उहाँले भन्नुभयो, “ज्ञान केन्द्रले चैते धानको प्रवर्द्धनका लागि सिँचाइका कार्यक्रम ल्याएको छ, सिँचाइका कार्यक्रम चलेका स्थानमा खेती गरेको पाइएको छ, अन्यत्र धेरै ठाउँमा मकै बाली लगाउन थालिएको छ ।”

पाल्पा जिल्लामा करिब सात सय पाँच हेक्टर क्षेत्रफलमा चैते धान लगाइन्छ । ज्ञान केन्द्रले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नवीनतम प्रविधि तथा यन्त्रहरूको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको छ । यो धान चिउराका लागि अति नै राम्रो मानिन्छ । 

जिल्लाका माडी, अर्गेली, कचल, पूर्व खोला, हुँगी, ढुङ्गाना बेँसीलगायतका फाँट चैतेधानले हराभरा हुने फाँट हुन् । अहिले यहाँका अधिकांश फाँटमा फाट्टफुट्ट मात्र धान खेती हुने गरेको छ । सिँचाइ सुविधा पुगेर पनि कतिपय ठाउँमा खेती लगाउन छाडिएको छ भने केही ठाउँमा अझै पनि आकाशे पानीकै भरमा चैते धान लगाउनुपर्ने समस्याले धान लगाउन छाडेर मकै खेती गरेको पाइएको छ । प्रमुख खाद्यान्न बाली धानमा आत्मनिर्भर बनाउन चैते धानलाई पनि प्रवर्द्धन गर्न सकेमा आयातित खाद्यान्नलाई केही हदसम्म भए पनि रोक्न सकिने छ ।रासस

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १० : २५ बजे