न्यायका कुरा गर्ने सरकारले फुजेलका अधिकारीको बारेमा किन बोल्दैन ? : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको बारेमा सरकारले बोल्नुपर्ने बताउनु भएको छ।

आज नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा बोल्दै ओलीले न्यायका कुरा गर्ने सरकारले यो विषयमा किन नबोलेको भन्दै प्रश्न गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो ‘हामीले सोध्नुपर्छ गोरखा फुजेलका अधिकारीको बारेमा। ती अधिकारीको  शव अझै पनि अस्पतालमा बसेको छ। अनि न्यायका कुरा गर्ने, सामाजिक न्यायको कुरा गर्ने ? अहिले पनि उहाँकी श्रीमतीको हालत नाजुक छ । श्रीमानको लास अस्पतालमा छ, त्यतातिर सरकारको ध्यान किन जाँदैन । यस्ता थुप्रै विषयहरू छ।’ 

प्राकृतिक स्रोत साधनका हिसाबले देश धनी भए पनि सबै कुरा अलपत्र रहेको र नीति तथा कार्यक्रममा चाहिने कुरा उल्लेख नगरेको दाबी गर्नुभयो। उहाँले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय देशका लागि अत्यन्तै महत्त्वपूर्ण र उच्च शिक्षाको क्षेत्रमा वैज्ञानिक र प्राविधिकहरू देशभित्रै उत्पादन गर्न महत्त्वपूर्ण हुने बताउँदै त्यसको बारेमा नीति तथा कार्यक्रममा चर्चा नभएको बताउनु भयो।

अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति लिएपछि जनसमर्थन ह्वात्तै बढेको भन्ने कुरा सुनेको भन्दै कटाक्ष गर्नुभयो।

उहाँले आफू कार्यक्रमहरूमा गएका बेला हुल हुज्जत हुँदा पनि सरकारले आफ्नो सुरक्षा नदिएको बताउँदै उहाँले यो कानुनी राज हो कि जंगलीराज हो भन्ने प्रश्न गर्नभयो।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ४ : २७ बजे