दुई दिन थानामै रहने भए नक्कली शरणार्थी प्रकरणमा समातिएका सक्कली शरणार्थीका नेता

​​​​​​​काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सक्कली भुटानी शरणार्थीहरुका नेता टेकनाथ रिजाल दुई दिन प्रहरी हिरासतमा रहने भएका छन् । 

पक्राउ परेलगत्तै प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौँमा उभ्याएर अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति लिएको हो ।  किर्ते गरेर भुटानी शरणार्थी खडा गरी भण्डै एक अर्ब रुपैयाँ हाराहारीको घोटाला भएको उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् । अन्य केही फरार  छन् ।

प्रहरीले अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन लाग्दा रिजाल भने आज अपरान्ह काठमाडौँस्थित निवासबाटै पक्राउ परेका हुन् । 

बिचौलियाको बयानको आधारमा उनलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा उनले लामो समयदेखि पैरवी गर्दै आएका थिए । तर, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा उनको नाम मुछिएपछि प्रहरीले खोजी गरिरहेको थियो ।

आजै बिहान नेपाल हज समितिका अध्यक्ष समशेर मिया सिंहदरबारबाट पक्राउ परेका थिए ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ४६ बजे