यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बागलुङका सहकारीकर्मी भन्छन् : ‘कृषि क्षेत्र सरकारको प्राथमिकतामा परेन’

बागलुङ । बागलुङका सहकारीकर्मीहरुले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण पक्ष कृषि क्षेत्रलाई सरकारले कहिल्यै पनि प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् ।

राष्ट्रिय किसान आयोगले शुक्रवार बागलुङमा आयोजना गरेको सहकारीकर्मीहरु बीचको छलफल कार्यक्रमका सहभागीहरूले कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा राज्यको चासो नदेखिएको गुनासो गरेका हुन् ।

कृषि क्षेत्रमा लागेका कृषकहरूलाई प्राविधिक ज्ञान लगायत मल बिउको व्यवस्थापन गर्ने देखि किसानहरूले दुख गरेर उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सरकारले ध्यान नदिएको उनीहरूको आरोप छ ।

राष्ट्रिय किसान आयोगका कन्सल्टेण्ट पुष्पराज शाहीले कृषि क्षेत्रका समस्याको पहिचान गर्नुका साथै कृषि सहकारीहरूको समस्या समाधानमा सहजीकरण गर्नका लागि आयोगले देशव्यापी रूपमा अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो । कृषि सहकारीहरूलाई व्यवस्थित बनाउने विषयमा नेटवर्क विस्तारलगायत समन्वयकारी भूमिका निर्वाह गर्न आयोग तयार रहेको भन्दै शाहीले कृषि सहकारी सङ्घहरूको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा जिल्ला सहकारी सङ्घ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), कृषि सहकारी सङ्घका अध्यक्ष नर बहादुर थापा, सूचना तथा सञ्चार सहकारी सङ्घका अध्यक्ष खिम बहादुर कार्की, कृषि सहकारी सङ्घका सल्लाहकार मोहनलाल शर्मा, सचिव गङ्गा बहादुर थापा, जिल्ला सहकारी सङ्घका सञ्चालक जगन्नाथ सापकोटालगायत कृषि सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले कृषि क्षेत्रको प्रवर्द्धनका लागि आयोगले सहजीकरण गरेर प्रभावकारी काम गर्नु पर्नेमा जोड दिनुभएको थियो । 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ३१ बजे