एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने, बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेस हुँदै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलि अर्थात् वैशाख ३० गतेसम्म जारी रहनेछ ।

बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गर्नुभएको थियो ।  

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार बिहीबार पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  ।

''आज गण्डकी प्रदेशबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुहुनेछ'', उहाँले भन्नुभयो, ''उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने भएको छ, समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।''

उहाँका अनुसार बिहीबार सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ– आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँच वटा प्रदेश प्रमुखले प्रतिवेदन पेस गर्नुभएको थियो । जसअनुसार सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोसी प्रदेशबाट राजेन्द्र गौतमले आ आफ्नो प्रदेशको रिर्पोट प्रस्तुत गर्नुभएको थियो । 

बाँकी रहेका प्रदेश कमिटीहरूले आज आ–आफ्नो प्रतिवेदन पेस गर्नेछन् ।  

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : ४८ बजे