सार्वजनिक बाटो कब्जा गर्दै बालकोटमा काँग्रेस सभापतिको नाङ्गो नाँच

भक्तपुर । नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटका सभापति कृष्णभक्त श्रेष्ठले स्थानीय महिला तथा बालबालिकालाई  कुटपिट गरेका छन् । श्रेष्ठसहित उनको परिवारले स्थानीय महिला तथा बालबालिकालाई छानिछानी  कुटपिट  गरेको स्थानीयहरुले बताए । उनीहरुको कुटपिटबाट चार जना घाइते छन् । 

    भक्तपुर जिल्ला अदालत र उच्च अदालत पाटनको फैसला तथा सर्वोच्च अदालतको आदेशको अबज्ञा गर्दै सार्वजनिक बाटो मासेका श्रेष्ठले त्यस्को विरोध गर्ने स्थानीयलाई छानीछानी कुटेका हुन् । स्थानीयहरु माथि आक्रमण गर्ने सभापति श्रेष्ठलाई प्रहरीले अहिलेसम्म कुनै कारबाही नगरेको पीडित पक्षले बताएको छ । श्रेष्ठले भने उल्टै आफ्नो पार्टी सत्तामा रहेको भन्दै पीडित परिवारलाई थप धम्कि र मानसिक यातना दिएको घाइते तथा पीडित पक्षले बताए । 

    यहीँ बैशाख २१ गते साँझ घरमा कोही नभएको मौका पारी श्रेष्ठ र उनका छोराहरु किरण श्रेष्ठ र शरण श्रेष्ठले आफ्नै घर अगाडिको  सार्वजनिक बाटो खनेर आवागमनमा अबरोध पुर्याएका थिए। श्रेष्ठ परिवारको कर्तुत यतिमै रोकिएन । बिग्रिएको बाटोको  २२ गते फोटो खिचिरहेका सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी भूपु सैनिक राजन पौडेल र उहाँकी पत्नी करुणा पौडेललाई श्रेष्ठ र उनका छोरासहितको व्यक्तिहरुले मोवाइल खोस्दै कुटपिट गरेर अर्को नाङ्गो नाच नाचेको स्थानीयवासीले बताए ।

    कुटपिट भइरहेको देखेपछि छुट्याउन गएका पौडेलकी भतिजी प्रतिज्ञा केसी र दीपक खत्रीलाईसमेत परिवारनै मिलेर कुटपिट गरि घाइते बनाएको थिए । घाइते चारैजनाको २२ गतेदेखि मध्यपुरथिमिस्थित आरोग्य मल्टिस्पेसालिटी अस्पतालमा उपचार गरी  २६ गते साँझ घर फर्किएका छन् । घाइते परिवारलाई अझै पनि बिभिन्न धम्की दिइरहेका श्रेठलाई बचाउन काँग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की लागेका छन् । कार्कीले  बिज्ञप्तीनै निकालेर घट्नालाई भ्रम फैलाउन खोजेको र धम्की दिएर परिवारलाई मानसिक यातना दिइरहेको बताएका छन् ।

    सूर्यविनायक नगरपालिका–२ नेपाली काँग्रेसका सभापति कृष्णभक्त श्रेष्ठले २०७० साल असार २४ गते एक लाख ५ हजार रकम लिएर करारनामा गरि चार फुटे बाटो दिएर घर बिक्री गरेका थिए । २०७५ साल माघ ६ गते उक्त घर करुणा पौडेको नाममा पुन नामसारी भयो । त्यसपछि कृष्ण भक्तले बखेडा निकाल्दै आएका हुन् । कृष्णभक्तले यो बाटो पहिलाको घर किन्नेलाई दिएको हुँ तिमीहरुलाई होइन भन्दै मोटो रकम मगिरहेका थिए ।  घर खरिद गर्दा कमिसन मागेको र रकम नदिए पछि बाटो खनिदिने, ढुङ्गा थुपार्ने जस्ता अबरोध गर्दै श्रेष्ठले बषैृदेखि ज्यादती गर्दै आइरहेको स्थानीय बताउछन् । 

    त्यही बाटोको आधारमा वडा कार्यालय र नगरपालिकाले उक्त घरको नक्सा पास, इजाजत पत्र, घर निर्माण सम्पन्न र बाटो रहेको उल्लेख गर्दै सिफारिस दिए पनि कृष्णभक्तले भने अबरोध गर्दै आइरहेका छन् । 

    बाटोमा पटक पटक अबरोध गरेपछि पीडित करुणा पौडेलले भक्तपुर जिल्ला अदालतमा हालेको मुद्धाकाबारेमा २०७८ मंसिर १९ गतेको भक्तपुर जिल्ला अदालतको अन्तरिम आदेशले जारी गर्दै उक्त बाटो नभत्काउने, नचलाउने र अबरोध नगर्ने आदेश दिएको थियो । त्यसपछि अदालतले मुद्धाको फैसला गर्दै उक्त बाटोलाई सदर गर्दै पौडेलको पक्षमा फैसला गरेको थियो ।

अदालतले पौडेलकै पक्षमा फैसल्ला गरे पनि कांग्रेस सभापती श्रेष्ठ भने पाखुराकै भरमा स्थानीय माथि ज्यादती मच्चाइरहेको स्थानीयहरुको गुनासो छ ।

यसै बीच सत्ता र शक्तिको आडमा नेपाली काँग्रेसका नेताले गुण्डागर्दी शैलीमा चार जना घाइते हुने गरी कुटपिट गरेको घटना नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन भक्तपुरले आपत्ति जनाएको छ । सङ्गठनले घट्नाप्रति आपत्ति जनाउँदै घटना दोहर्‍याए प्रतिकार गर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाएको छ । 

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ४ : ३० बजे