झापा । दलितमाथि हुँदै आएका सबै खाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकल यात्रा मङ्गलवार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ ।
यही वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकल यात्रा सुरु गर्नुभएको थियो । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उहाँहरूले यात्रा पूरा गर्नुभएको हो ।
रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुनुहुन्छ । अर्घाखाँचीकी सङ्गीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुनुहुन्छ ।
‘सबै खाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साइकल यात्रा २०८०’ नाराका साथ तीन जनाले साइकल यात्रा गर्नुभएको हो ।
साइकलमा उहाँहरूले राष्ट्रिय झन्डा फहराउनुभएको थियो भने विभिन्न जिल्लामा जातीय छुवाछूतलगायत विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नुभएको थियो ।
साइकल यात्री बुढाथोकीले मुलुकमा ठूला राजनीतिक परिवर्तन र राज्य व्यवस्थामा फेरबदल आए पनि दलित समुदायले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समानता तथा आत्मसम्मानको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो । साइकल यात्राले समानता र आत्मसम्मानका लागि सकारात्मक सन्देश प्रवाहित गरेको उहाँको भनाइ छ ।
प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ७ : ३८ बजे
प्रतिक्रिया