‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भारतको मणिपुरको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ५४ पुग्यो

नयाँ दिल्ली । मणिपुरमा भड्किएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ । 

५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शव गृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरु चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरू इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको छ ।

यसबाहेक इम्फाल पश्चिमको लाम्फेलस्थित क्षेत्रीय चिकित्सा विज्ञान संस्थानले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्थिति नियन्त्रण गर्न सेना र असम राइफलका करिब १० हजार सिपाही राज्यमा तैनाथ गरिएका छन् ।

पीटीआईका अनुसार दुई समुदाय बीचको हिंसात्मक झडपमा धेरै व्यक्तिको मृत्यु भएको हुन सक्ने जनाइएको छ, सयभन्दा बढी घाइते हुन पुगेका छन् । यद्यपि प्रहरी भने यो कुरा पुष्टि गर्न तयार छैन । 

गोली लागेर घाइते भएका धेरैको रिम्स र जवाहरलाल नेहरु चिकित्सा विज्ञान प्रतिष्ठानमा पनि उपचार भइरहेको छ । हिंसा नियन्त्रण गर्न सेना, र्‍यापिड एक्सन फोर्स र केन्द्रीय प्रहरी बलको थप फौज मणिपुर पठाइएको छ। 

मणिपुर नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको अधिकारीहरूले बताए पनि अनौपचारिक स्रोतहरूले यो सङ्ख्या धेरै हुने सक्ने जनाएका छन् । त्यहाँको इन्टरनेट काटिएका कारण जारी हिंसामा के कतिको ज्यान गयो, त्यसको स्वतन्त्र पुष्टि भने अझै हुन सकेको छैन । साथै, जारी हिंसालाई नियन्त्रण गर्नका लागि थप सेना, र्‍यापिड एक्सन फोर्स र केन्द्रीय प्रहरी बलको बलियो सुरक्षा उपस्थितिले सबै प्रमुख क्षेत्र र सडकहरूलाई भने नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ४१ बजे