बाढीको स्थितिमा सुधार

दार्चुला हिमपहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी

दार्चुला । हिमपहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । 

डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अझै फेला नपरेका हुन । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेपत्ता भएका दुई जनाको खोजी कार्य अझै जारी राखिएको छ । 

वर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भए पनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखिएको छ ।

यता, ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच मध्ये तीन जनाको भने शव भेटिएको थियो । उनीहरू तीनै जनाको शव भारतीय सीमा हुँदै तीन दिनपछि हिजो सदरमुकाम खलङ्गा ल्याइएको थियो । 

गत साता गएको हिमपहिरोमा परी निधन भएका दुहुँ गाउँपालिका–४ दार्चुलाकी ३८ वर्षीया कमला कुँवर र उनका १८ वर्षीय छोरा प्रविण कुँवर  तथा जोरायल गाउँपालिका–२ बुडर, डोटीकी ४५ वर्षीया नक्नी डोमा थापाको शव भने परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ११ : ४६ बजे