आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रथम प्रेस चौतारी प्रदेशस्तरीय फुटसलको उपाधि दाङलाई

भैरहवा ।  एभरेष्ट ईन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । फाइनल खेलमा दाङले बाँकेलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । 

उपविजेता बाँकेले नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा बाँकेका कुमार श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार, प्रमाणपत्र, कपबाट पुरस्कार भए । 

यसैगरी उत्कृष्ट गोलकिपर बाँकेकै केशव राना, सर्वाधिक गोलकर्ता दाङका किरण नेपाली, उत्कृष्ट डिफेन्डर नवलपरासीका टेक हरिजन, रुपन्देहीका रतन कँडेल उत्कृष्ट फरवार्डबाट पुरस्कृत भए । प्रतियोगिताकै अवसरमा नेकपा एमाले र प्रेस चौतारी तथा पत्रकार महिलाहरूका बीचमा समेत मैत्रीपूर्ण फुटसल खेलाइएको थियो । 

योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा एक समारोहका बीच नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा उहाँले खेलकुद मानिसको स्वास्थ्यको लागि पनि अति जरुरी रहेको भन्दै यस्ता कार्यक्रमलाई आपसी मेलमिलाप र एकताको भावनालाई उजागर गर्ने बताउनुभयो । 

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, उपाध्यक्ष द्वय राजेश राई र सबिन प्रियासन, केन्द्रीय सचिव प्रदीप आचार्य, प्रदेश अध्यक्ष शोभाखर पोखरेल, महासचिव निरु गौतम, केन्द्रीय सदस्य अमृत गिरि, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले प्रदेशस्तरीय फुटसल आयोजना गरेर प्रेस चौतारी रुपन्देहीले आपसी अन्तरसम्बन्धलाई स्थापित गरेको बताउनुभएको थियो । 

कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले खेलकुदमार्फत पत्रकारहरूलाई भ्रातृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष भगवती पाण्डे, सचिव केशव भण्डारीलगायतले प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको बताउनुभएको थियो । 

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ३८ बजे